
काठमाडौं, भदौ २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी मुद्रा आर्जनका दृष्टिले रेमिट्यान्स मुलुकको दिगो स्रोत बनिरहने कुरा शंकास्पद रहेको बताएका छन् ।
नेपाल आर्थिक संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकले गत आर्थिक वर्ष असहज परिस्थितिको सामना गर्नुपरेकाले आर्थिक परिसूचकहरू सन्तोेषजनक रहन नसकेको उल्लेख गरे ।
‘२०७२ सालको विनाशकारी भूकम्प र तत् पश्चात्का पराकम्पहरूले धनजनको ठूलो क्षति ग¥यो र जनजीवन तथा आर्थिक क्रियाकलापहरू अस्तव्यस्त पा¥यो । त्यसको केही महिना पछि दक्षिणतर्फको सिमा अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका आवश्यक सामाग्रीहरूको आपूर्तिमा समस्या हुनगयो र मुलुकले थप आर्थिक क्षति व्यहोर्नु प¥यो,’ उनले भने, ‘यी प्राकृतिक तथा बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा पनि कम रहयो भने मूल्य वृद्धि १० प्रतिशत रह्यो र व्यापार घाटा ७ खर्ब रुपैयाँभन्दा केही बढी हुन गयो ।’
मुलुकको निर्यात विगतदेखि नै अत्यन्तै कमजोर रहेकाले विगतका वर्षदेखि नै घट्दै गएको निर्यातले आयात धान्ने क्षमता गत वर्ष ९ प्रतिशतमात्रै रहेको पनि उनले उल्लेख गरे ।
‘यति हुँदा हुँदै पनि रेमिट्यान्सले गर्दा मुलुकको चालु खाता भने बचत नै रहयो । रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धान्ने भएतापनि विदेशमा नेपाली श्रमको माग घटने प्रवृत्तिले गर्दा रेमिट्यान्सको वृद्धिदर भने घट्दै गएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसैले रेमिट्यान्स मुलुकको लागि विदेशी मुद्रा आर्जनको दीगो श्रोतको रुपमा रहने कुरा शंकास्पद छ । त्यसैले अहिले भित्रिरहेको रेमिट्यान्सलाई पनि दिगो उत्पादनशिल क्षेत्रमा लगानीको अवसर सिर्जना गर्नेतर्फ पहल गर्न ढिला भइसकेको छ ।’
अहिले भित्रिरहेको रेमिट्यान्स आगामी दिनहरूमा स्वदेशमै काम गर्ने पूँजिगत आधार बनोस् भन्नेमा सचेत र सार्थक पहल गर्नु आवश्यक रहेकोमा जोड दिदैं प्रधानमन्त्री दाहालले भने, ‘यसका लागि हामीले अहिले देखिनै हाम्रा युवाहरूको श्रम, सिप, जोस जागरलाई मुलुककै नवनिर्माणमा कसरी लगाउन सकिन्छ, त्यसतर्फ हाम्रो ध्यान जानु आवश्यक छ । यस सम्बन्धमा कसरी अगाडि बढ्ने, कुन प्रकारको मोडल वा खाका अवलम्बन गर्ने आदि विषयमा मुलुकका वुद्धिजीवि तथा अर्थशास्त्रीवाट अर्थपूर्ण र व्यवहारिक योजना आउनेछ भन्ने मैले आशा गरेको छु ।’
कार्यक्रममा अर्थविद् विश्वम्भर प्याकुरेलले मुलुक संरचनात्मक समस्यामा जेलिइरहेको भन्दै रोजगारमूलक अर्थतन्त्रको विकासका जोड दिन सरकारको ध्यनाकर्षण गराएका थिए । उनले राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले समेत मुद्रास्फितिको समस्या समाधान गर्न नसकेको बताए ।
हरेक मन्त्रीलाई राज्यको विकास र समृद्धितर्फ जिम्मेवार बनाउन उनीहरुले गर्ने कामको मुल्यांकन गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा अर्थविद् महेशकुमार उपाध्याय, संघका पूर्वअध्यक्ष मधुकुमार दाहाल र पूर्वमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्