
कविराज घिमिरे/ईमेज
धनकुटा । धनकुटास्थित सामुदायिक चिकित्सा अध्ययन क्याम्पस पूर्वाधार निर्माण र व्यवस्थापनमा चासो नदेखाउँदा ३० वर्षदेखि अलपत्र बन्दै गएको छ ।
विदेशी अनुदानबाट क्याम्पस निर्माण भए पनि संचालनमा ध्यान नदिँएपछि बन्द रहेको क्याम्पसको स्वरुप खण्डहरजस्तै बनेको हो ।
कुनै समय स्वास्थ्य संस्थामा जनशक्ति उत्पादन गर्न ठूलो योगदान पुर्याएको धनकुटाको सामुदायिक चिकित्सा क्याम्पस अहिले जर्जर बन्दै गएको छ ।
विसं २०३८ सालमा क्यानडा सरकारको करिब ८ करोडको अनुदानमा निर्मित क्याम्पस अहिले बन्द अवस्थामा रहेको छ ।
पूर्वका १६ वटै जिल्लाबाट प्रतिस्पर्धा गराई कोटा प्रणालीमा विद्यार्थी भर्ना लिइने क्याम्पसमा गाउँमा सेवारत स्वास्थ्य कार्यकर्ताका लागि १० प्रतिशत सिट आरक्षण थियो ।
नमूना ग्रामीण स्वास्थ्य कार्यकर्ता उत्पादन गर्ने यो क्याम्पस आठवर्ष भन्दा बढी सञ्चालनमा आउन सकेन ।
२०४६ सालपछि सीटीईभीटीको स्थापन भएसँगै त्रिभुवन विश्वविद्यालयले सीएमएतर्फको पढाइ बन्द गरेसँगै यो क्याम्पस पनि बन्द भएको थियो ।
पढाइ बन्द भएसँगै क्याम्पसका भौतिक संरचना समेत दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।
४५ रोपनीमा फैलिएको क्याम्पसका दर्जनौं भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन तथा फर्निचर अलपत्र बनेका छन् ।
केही भवनलाई धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले आवास बनाएका छन् भने बाँकी पूर्वाधार त्यतिकै जीर्ण बन्दै गएका छन् ।
स्थानीय समुदायले पुर्बाधार उपयोग गर्न चासो नदिएका कारण भवन उपयोगविहीन बनेको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरे बताउँछन् ।
सञ्चालनमा रहेका बेला हरेक वर्ष दुर्गमका एक सय २० जनाले सामुदायिक चिकित्सा सहायकको दक्षता प्राप्त गर्दथे ।
अहिले भने विद्यार्थीहरु निजी क्षेत्रबाट संचालित क्याम्पसमा महँगो शुल्क तिरेर पढ्न बाध्य रहेको स्थानीय बताउछन् ।
हरेक कुरामा अनुदान र दानमै आश्रित बन्ने प्रवृत्तिका कारण क्याम्पसका करोडौँ मूल्यका भौतिक सम्पत्ति क्षयीकरण हुँदै गएका छन् ।
“
प्रतिक्रिया दिनुहोस्