२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


इलाममा १० ओटा स्थानीय तह बनाउने सहमति


0
Shares

इलाम, भदौ २२ । लामो छलफलपछि इलाममा १० ओटा स्थानीय तह बनाउने सहमति भएको छ ।

स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिको राजनीतिक दलका प्रतिनिधिसमेत बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह पुनःसंरचना आयोगले दिएको संख्याभन्दा दुईओटा स्थानीय तह थप गर्ने गरी सहमति भएको प्राविधिक सहयोग समितिका सदस्य तथा जिविस इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए ।

इलामको स्थानीय निकाय पुनःसंरचनाका लागि यसअघि पटक–पटक छलफल भएपनि संख्यामा सहमति नजुट्दा अन्तिम टुंगो भने लागेको थिएन ।

देशभर ५६५ स्थानीय तह बनाउने गरी आयोगले इलाम जिल्लालाई आठओटा स्थानीय निकाय तोकेकोे थियो ।

प्राविधिक समितिले यसअघि आयोगले तोकेअनुसार आठओटा क्लस्टर बनाउने गरी प्रस्ताव गरेको थियो ।

‘जिल्लास्थित विभिन्न राजनीतिक दलमध्ये नेकपा एमालेलगायत केही दल त्यसमा सहमत भएपनि नेपाली कांग्रेसलगायत दलले संख्या थप गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन ।

प्राविधिक सहयोग समितिका सदस्य खतिवडाले भने–‘सर्वसम्मत् हुन नसक्दा समितिले आयोगले तोकेको समयमा सिफारिस पठाउन सकेको थिएन । अब चाँडै प्रतिवेदन केन्द्रमा पठाउनेछौं ।’

संख्यामा सर्वसम्मत् भएपनि यी क्लस्टरको सीमांकन, नामांकन र केन्द्रबारे भने अर्को बैठकले टुंगो लगाउने निर्णय भएको खतिवडाले जानकारी दिए ।

‘सबै दललाई आ–आफ्नो खाका प्रस्तुत् गर्न भनेका छौं’–उनले भने–‘अब बस्ने बैठकले त्यसमा छलफल गरेर टुंगो लगाउने सहमति भएको छ ।’

आयोगले तोकेको संख्या र दलबीच भएको सहमतिको संख्या फरक परेकाले आयोगले तोकेअनुसार दलबीचको छलफलमार्फत् प्राविधिक सहयोग समितिले तयार गरेको आठओटा क्लस्टरको प्रतिवेदन र दलले सहमति गरेको १० ओटा क्लस्टरको प्रतिवेदन सँगै आयोगमा पठाइने समितिले जनाएको छ ।

खतिवडाले भने–‘हामीलाई आठओटामा सहमति हुन नसकेको कारणसहित कति थप्दा सहमति हुन्छ, निर्णय गरेर पठाउनु भनिएको छ, हामी दुबै प्रतिवेदन पठाउँछौं ।’

प्राविधिक सहयोग समितिले आठ क्लस्टरका लागि इलाम नगरपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकालाई आधार मानी थप एक नगरपालिका र बाँकी चार गाउँपालिकाको सीमांकन र नामांकन तथा केन्द्रका विषयमा छलफल गराएको थियो ।

पुनःसंरचना आयोगले तय गरेको कार्यविधिअनुसार पहाडमा गाउँपालिका बन्न २५ हजार जनसंख्या पुग्नुपर्छ ।

यस्तै, नगरपालिकालाई ३५ हजार र सदरमुकाम बनाउन ४५ हजार जनसंख्या हुन अनिवार्य छ । रासस