
-डिल्लीराज पन्त, ईमेज
कञ्चनपुर, भदौ २३ । हरेक वर्ष बर्षातमा बेला आउने बाढीले कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको सयौं विगाहा उब्जाउ जमिनलाई कतै बगर बनाएको छ भने कतै तालमा परिणत गरेको छ ।
यसरी बर्षभरीको जिविका गर्न लगाइएको खेती र खेतियोग्य जमिन कामै नलाग्ने बनाएपछि स्थानीय समस्यामा परेका छन ।
महाकाली नदीमा आउने बाढीका कारण कञ्चनपुरको दोधारा–चांदनी नगरपालिकामा मात्रै झण्डै ८० बिघाह जमिन डुवान हुने गरेको छ ।
खेतीयोग्य जमिन नै डुवान भएपछि यतिबेला स्थानीयलाई सरकारलाई तिर्ने कर समेत कहांबाट जुटाउने भन्ने चिन्ता छाएको छ ।
सरकारले पानीको निकासका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
जोगबुढा र महाकाली नदीमा आउने पानीले आम्बोजमा खेतीयोग्य जमिन र स्थानीयका घर पनि डुवानमा पर्ने गरेका छन् ।
बाढीले खेतीयोग्य जमिन त डुवानमा पार्छ नै वर्षभरी खान राखेको अन्न पनि बगाएर लैजान्छ ।
झण्डै ५२ घर परिवार रहेको सो क्षेत्रका बासिन्दालाई वर्षातमा धानबाली कसरी जोगाउने र हिउंदमा के खाने भन्ने चिन्ता छ भने एउटै बाली पटक पटक लगाउनु पर्ने उनीहरुको बाध्यता बनेको छ ।
विगत ७ वर्षदेखि सो क्षेत्रमा महाकाली, जोगबुढा नदी र आकाशे पानी जम्मा हुने तर पानीको निकास हुने भाग महाकाली नदी तर्फको जमिन बाढीका कारण अग्लो भएको र खेतीयोग्य जमिन होचो हुन पुगेकाले पनि थप समस्या भएको हो ।
पानीको निकासका लागि स्थानीय निकायले पक्का ड्रेनेज बनाएर पानीलाई जोगबुढा नदीमा निकास गर्नु पर्ने स्थानीय बताउंछन् ।
दोधारा चांदनीका स्थानीय बासिन्दाले वर्षौदेखि डुवानको समस्या भोग्दै आएका छन् । तर, त्यसको सामाधानका लागि स्थानियस्तरमा पहल भइरहेपनि हालसम्म कुनै उपलब्धीमुलक काम हुन सकेको छैन ।
राजनीतिक सहमतिका आधारमा पानीको निकासका लागि आगामी दिनहरुमा थप पहल र प्रयास हुने नेकपा एमाले दोधारा चांदनी नगर कमिटिका अध्यक्ष किशोर लिम्बु बताउँछन् ।
पछिल्लो केहि वर्ष यता दोधारा चांदनी नगरपालिको आम्भोजको मात्र नभई यो समस्या कञ्चनपुर जिल्लाका तटिय क्षेत्रमा पर्ने सवै क्षेत्रमा बन्दै गएको छ ।
वर्षातका बेला वाढी आउने, घर जग्गा बगाउने समस्या त छदै छ । यो संगै बाढीले बगाएर ल्याएको बालुवा खेती योग्य जमिनमा थुपारिदिंदा अन्नवाली नै नहुने भई सर्वसाधारण झनै समस्यामा पर्ने गरेका छन ।
प्रतिक्रिया दिनुहोस्