३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अस्पतालबाहिरै उपचार, शल्यक्रिया रोकियो, बिरामीको बिचल्ली (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र उत्तम मानन्धर (इमेज)

काठमाडौं, चैत २७ । कर्मचारी समायोजनको विरोध गर्दै ६ दिनदेखि आन्दोलनरत् सरकारी चिकित्सकहरुले बुधबार अस्पतालबाहिरबाटै सेवा दिएका छन् ।

वीर अस्पतालमा बुधबार अस्पताल प्रशासन र सुरक्षाकर्मीले बल प्रयोग गरी ओपीडीकक्ष खुलाएपछि आन्दोलनरत् चिकित्सकहरुले बाहिरबाट बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् ।

संघ मातहत राखेरमात्र आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउन माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र सरकारबीच संवाद नभइ मुठभेडको अवस्था आउने आशंका बढेको छ ।

आन्दोलनका कारण बिरामी मर्कामा परेपछि बुधबार बिहानै वीर अस्पतालमा प्रहरीले ओपीडीको टिकट खुला गरेको छ । यसक्रममा भएको मुठभेडमा केही चिकित्सक घाइते भएका छन् ।

ओपीडीको टिकट खुलेपछि बिरामीले टिकट त काटे तर उपचार गराउन भने पाएनन् ।

बिरामीको यस्तो अवस्था देखेपछि चिकित्सकहरु अस्पतालबाहिरै बसेर बिरामी जाँच्न तयार भए, सरकारी चिकित्सक संघको छाप लगाएको पेपरको प्रयोग गरेर ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले बल प्रयोग गरेर आफूहरुलाई कमजोर पार्न नसक्ने भन्दै अब देशैभर अस्पतालबाहिर बसेर उपचार गर्ने बताए ।

सामान्यखालका बिरामीको जाँच अस्पतालबाहिरबाटै गरिएपनि शल्यक्रियाका लागि समय लिएका बिरामीको भने आन्दोलनका कारण बिचल्ली भएको छ ।

पर्वतकी इन्दिरा शर्मा पित्तथैलीको पत्थरीको शल्यक्रिया गराउन तयारी अवस्थामा रहेका बेला चिकित्सकले भने अस्पताल बन्द छ भन्दै उनको शल्यक्रिया गरेनन् ।

यस्तै, मुगुबाट २० दिनअघि उपचारका लागि काठमाडौं आएकी बाचुरा राउत चिकित्सकको आन्दोलनका कारण उपचार पाउन नसकी भौंतारिरहेकी छन् ।

श्रीमान्को मिर्गौला र आफ्नो छातीको समस्या लिएर वीर अस्पतालमा आएकी उनी समयमै उपचार गर्न नपाउँदा बस्न र खानमा सबै पैसा सकिएको दुखेसो पोख्छिन् ।

आन्दोलनको प्रत्यक्ष मारमा परेका बिरामीको समस्या अस्पतालैपिच्छे देख्न सकिन्छ ।

यस्तै, थापाथलीस्थित प्रसूतिगृह र कान्ति बाल अस्पतालमा भने चिकित्सकहरुले नियमितरुपमा उपचार गरेका छन् ।

गर्भवती महिला र बालबालिकाको स्वास्थ्य संवेदनशील हुने भन्दै चिकित्सकहरुले यी अस्पतालमा सेवा जारी राखेका हुन् ।

भिडियो हेर्नुहोस्