कविराज घिमिरे
धनकुटा, भदौ २४ । एक दशक अघिसम्म तरकारी मागेर गुजारा चलाउने धनकुटाको बुढी मोरङबासी यतिबेला भने तरकारी खेतीबाटै मनग्गे आम्दानी गर्न थालेका छन् ।
यहाँका शिक्षित युवासमेत कृषिमै भविष्य खोज्दै उत्साहपूर्ण रुपमा तरकारी खेतीमा लागेका छन् ।
धनकुटाको बुढी मोरङ्ग गाउँ विकास समिति–७, दुर्गा चोकका ठाकुरमान लिम्बु स्थानीय उच्च माध्यमिक विद्यालयको जागिर छोडेर कृषि पेसामा लागेका छन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरि शिक्षण गराउँदै आएका लिम्बु तीनबर्ष अघिबाट कृषि पेसामा लागेका हुन् ।
शिक्षण पेसाबाट मासिक तीस हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका लिम्बु अहिले प्रतिहप्ता नै ८० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । करिब एक सय २० रोपानी क्षेत्रफलमा खुर्सानी, बोडी, गोलभेडासँगै बाख्रा पालनसमेत गरेका छन् ।
कृषि पेसामा धेरै सम्मानसँगै सम्भावना भएकोले कृषि पेसातर्फ लागेको ठाकुरमान लिम्बु बताउँछन् ।
पाँचजना रहेको लिम्बुको परिवारमा सबै कृषि पेसामै लागेका छन् । विदेशिने तथा नेपालमा भविष्य नदेख्नेहरुलाई कृषिमै भविष्य खोज्न उनीहरुको सुझाव छ । लिम्बुजस्तै सो गाउँमा ९७ परिवारमध्ये ७० परिवार कृषि पेसामा आवद्ध छन् ।
ढुवानी तथा बजारका लागि कुनै समस्या नभएकोले गाउँले समेत कृषि पेसामा निकै सन्तुष्ट देखिएका छन् । उनिहरुले हाल कृषि पेसाबाटै न्युनतम तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
कृषिमा निक्कै सम्भावना देखेर २०६४ सालमा जिल्ला कृषि विकास कार्यालय धनकुटाले सो क्षेत्रलाई तरकारीको पकटे क्षेत्रको रुपमा घोषणा गरेको थियो । पकेट क्षेत्र घोषणा गरि बिउमा अनुदान, बाली संरक्षण, सिंचाई प्रविधि, बजारीकरण तालिमजस्ता कार्यक्रम अघि सारेसँगै सो गाउँमा पढेलेखेका युवादेखि विदेशबाट फर्किएका युवा तथा बृद्धबद्धाको समेत तरकारी खेतीतर्फ आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय धनकुटाका कार्यालय प्राविधिक सहायक टंक अधिकारी बताउँछन् ।
यहाँ उत्पादित तरकारी सुनसरी, विराटनगर र झापासम्म पुग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्