-डिल्लीराज पन्त,ईमेज
कञ्चनपुर, भदौ २६ । अहिले अधिकांश युवामा धन कमाउन विदेश जाने लहर चलेको छ । तर, नेपालमै बसेर पनि मेहनत गर्ने हो भने विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ ।
कृषि व्यवसाय गरी विदेशमा भन्दा दोब्बर आम्दानी गरेका उदाहरण मुलुकभित्रै छन् । यस्तै कृषि व्यवसाय अँगालेर सफल बनेका छन् कञ्चनपुरको ग्रामीण क्षेत्रका युवा ।
२०५४ सालमा कृषि विकास कार्यालय कञ्चनपुरबाट तालिम लिएर तरकारी खेती सुरु गरेका कृष्णपुर नगरपालिका बलुवाफाटाका हरिराम चौधरी आफ्नै समुदायका लागि मात्र होइन अन्य धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएका छन्
सुरुवाती दिनमा वार्षिक ५ देखि ७ लाखसम्म आम्दानी गर्ने चौधरीले अहिले वार्षिक १२ लाखसम्म आम्दानी गर्न थालेका छन् ।
हरिराम चौधरीमात्र होइन यतिबेला बालुवाफाँटाका झन्डै ४० घर परिवारले करिब ६० विघा जमिनमा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।
अन्य बालीमा भन्दा तरकारी खेतीमा बढी आम्दानी हुने उनीहरुको भनाई छ । त्यस्तै विगत ७ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका अर्का कृषक टीकाराम चौधरी पनि उत्पादन गरिएको तरकारी बेच्न बजारको समस्या नभएको र पैसाको समस्या नहुने भएकाले तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् ।
चौधरी समुदायको बाहुल्यता रहेको बालुवाफाँटाका स्थानीय बासिन्दाले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने भएकाले उनीहरुको आर्थिक अवस्था नै परिवर्तन भएको छ । तरकारी खेतीबाट भएको आम्दानीले यहाँका प्रायः सबैले ट्याक्टर र पम्पसेटको व्यवस्था गरेका छन् ।
विदेशमा गरेजति परिश्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी गर्ने अवसर भएको कृषकहरुको भनाइ छ । कञ्चनपुरमा एक विघाभन्दा माथी व्यवसायीक रुपमा तरकारी खेती गर्नेको संख्या २ सय भन्दा बढी रहेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुरुका दिनहरुमा युवा लक्षित कार्यक्रमबाट ६० हजार पाइने आशमा व्यवसायीक तरकारी खेतीमा लागेका अधिकांश कृषकले विस्तारै तरकारी खेतीबाट मुनाफा हुँदै गएपछि उत्साहित भएर तरकारी खेतीलाई नै निरन्तरता दिइरहेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाको भनाई छ ।
सरकारले युवा लक्षित व्यावसायिक कार्यक्रमलाई निरन्तरता दिने हो भने धेरै हदसम्म विदिसिने युवाका लागी स्वदेशमै आम्दानीको राम्रो स्रोत दिलाउन सकिने उदाहरण कञ्चनपुरमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्