१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


जनताले अधिकार पाउँदा मलाई सन्तोष लाग्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ २६ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पीडित जनताले अधिकार पाउँदा आफूलाई सन्तोषको अनुभूति हुने बताएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा नेपाल आदिबासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले भने, ‘मेरो राजनीतिक जीवन नै अधिकारको लडाईंमा बित्यो । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगले अधिकार पाउँदा मलाई सन्तोषको अनुभूति हुन्छ ।’

संविधान संशोधन गरेर उत्पीडितहरुका अधिकार स्थापित गर्न सरकार आतुर रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

भेटमा प्रधानमन्त्री दाहालले दोस्रो संविधानसभापछि पहिचान र अधिकारका पक्षधर शक्तिहरु कमजोर भएको भन्दै परिस्थितिको चापले संविधानमा सम्झौता गर्नु परेको बताए । उनले भने, ‘दोस्रो निर्वाचनमा वैधानिक मोर्चामा हामी कमजोर भयौं । त्यसको प्रत्यक्ष मार पहिचान र अधिकारका पक्षधरहरुलाई पर्‍यो । परिस्थितिको दवावले कैयौं विषयमा सम्झौता गरिएको छ । तर, हामी पहिचान र अधिकारका लागि आफ्ना एजेण्डा क्रमशः लागु गर्ने सोंचमा छौं ।’

जनजाति अगुवाहरुले आदिबासी जनजाति दिवस सरकारले आयोजना गर्न, संविधान संशोधन गरी पहिचान र जनजाति मुद्दाहरुको सम्बोधन गर्न, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्थाको दर बढाउन, संविधानमा जनजाति अधिकारलाई मौलिक हकको व्यवस्था गर्न, जनजाति प्रतिष्ठानलाई प्रदेश तहसम्म बिस्तार गर्न, आदिबासी जनजाति मन्त्रालयको गठन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।