काठमाडौं, भदौ २७ । लगातारको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित देशैभर बर्षा भइरहेको छ ।
आइतबार दिउँसोदेखि सुरु भएको वर्षा बुधबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारदेखि दिउँसो मौसममा सामान्य सुधार भए पनि राति भने वर्षा हुने महाशाखाले जनाएको हो ।
मनसुनी वायु सकृय भएको, बंगालको खाडीबाट जल बाफसहितको हावा नेपाल प्रवेश गरेको र भारतमा न्यून चापिय क्षेत्र विकास भएकाले नेपालमा पानी परेको महाशाखाको भनाइ छ ।
महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा ठूलो बर्षा हुने अनुमान समेत गरेको छ । पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी ८५ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
त्यस्तै काठमाडौंमा ६७ मिलिमिटर, ताप्लेजुङमा ५८ र डडेल्धुरामा ४१ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी हेटौंडा, काभ्रे, भैरहवा, ओखलढुंगा, दोखलालगायतका स्थानमा पनि भारी वर्षा भइरहेको छ ।
लगातारको वर्षाका कारण देशका ठूला नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ । सप्तकोशी र महाकाली नदीमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेको छ ।
सप्तकोशीमा दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको वहाव बढेर २ लाख २ हजार ८० पुगेको छ । कोशी ब्यारेजका ५८ मध्ये अहिले २३ वटा ढोका खोलिएको छ ।
प्रतिक्रिया दिनुहोस्