२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


पाटन अस्पतालबाट पाँचवटा बेवारिसे शव संकलन गरी दाहसंस्कार


0
Shares

ललितपुर, भदौ २७ । ‘एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी सोमबार दाहसंस्कार गरेको छ ।

पाटन अस्पतालमा बेवारिसे अवस्थामा रहेर गन्हाउन थालेका शवको दाहसंस्कार गरिएको संस्थाका अध्यक्ष विनय बस्नेतले जानकारी दिए ।

बस्नेतले तीन वर्ष पहिलेदेखि अस्पतालका रहेका ३३ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन् ।

ललितपुरको टीकाथली घर भएका बस्नेतले आफ्नै बावुको शव टिचिङ अस्पतालमा तीन दिनसम्म बेवारिसे अवस्थामा रहेपछि त्यहीँबाट प्रेरणा पाएर अस्पतालमा रहेका बेवारिसे शवको दाहसंस्कार गर्ने काम सुरु गरेको बताए ।

बस्नेतले अस्पतालहरुबाट संकलन गरेका बेवारिसे शव पशुपति आर्यघाट लगेर अन्त्येष्टि गर्ने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाहगृहमा पुराना शव जलाउन नदिएपछि उनले दाउराको प्रयोग गरेरै अन्त्येष्टि गरे ।

अस्पतालमा बेवारिसे अवस्थामा रहेका शवको व्यवस्थापन गर्ने काम सम्बन्धित नगरपालिकाको हो । तर, नगरपालिकाले पनि बेवारिसे शव व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ ।

बेवारिसे शव व्यवस्थापन गर्न कानुनी प्रणाली जटिल भएको उनको अनुुभव छ । उनले अस्पतालहरुले पनि बेवारिसे शव व्यवस्थापन गर्न सहयोग नगरेको बताए ।