२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बारा र पर्साको हुरी ‘टोर्नाडो’ : विभाग


0
Shares

काठमाडौं, चैत २६ । बारा र पर्सामा जनधनको क्षति हुनेगरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ ।

जल तथा मौसम विज्ञान विभागले स्थलगतरुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो ।

विभागले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई स्थलगतरुपमा गरिएको अध्ययन प्रतिवेदन बुझाएको छ ।

विभागका महानिर्देशक सर्जुकुमार वैद्यले स्थलगतरुपमा पाइएको तथ्य र अन्य प्रमाणका आधारमा सो दिन आएको हुरीको गति ५० किलोमिटरदेखि २०० किलोमिटर प्रतिघन्टा बराबरको रहेको मन्त्री पुनलाई जानकारी गराएका थिए ।

वर्षा, हिमपात तथा तापक्रमकोमात्रै मापन तथा अनुमान गर्दै आएको विभागले हुरीको विषयमा भने कुनै जानकारी नै राखेको थिएन ।

हुरीकाबारेमा अनुमान गर्न नसक्दा बारा र पर्साका २८ जनाको ज्यान गएको थियो । यस्तै, ६०० बढी घाइते भएका थिए । पशुचौपाया, अन्नपातमासमेत क्षति पुगेको थियो ।

विभागको स्थलगत अध्ययनअनुसार हुरी पर्साको जगतपुरबाट सुरु भइ बाराको बैरियामा पुगेर टुंगिएको थियो ।

स्थलगत अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री पुनले विभागलाई साधन र स्रोतसम्पन्न बनाउन तत्काल पहल गरिने बताए ।

‘नेपालीको स्वभाव परेपछिमात्रै चेत्ने देखिएको छ । हामीले ठूलो धनजनको क्षति व्यहोर्‍यौं । अब त केही न केही चैत्नै पर्छ । विभागलाई साधन र स्रोतले सम्पन्न बनाउन मन्त्रालयले विशेष व्यवस्था गर्छ, हामीले गर्नैपर्छ’–मन्त्री पुनले भने ।

सुर्खेतमा मौसमको समग्र अवस्थाकाबारेमा अध्ययन गर्न जडान गरिएको राडारलाईसमेत छिट्टै प्रभावकारीरुपमा सन्चालनमा ल्याइने उनको भनाइ थियो ।

यस्तै, पाल्पा र उदयपुरमा राडार जडानका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । ती स्थानमासमेत शीघ्र राडार जडान गरिने मन्त्री पुनको भनाइ थियो ।

उनले मन्त्रालयको बजेट नै रकमान्तर गरेर भएपनि विभागलाई सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस