
प्रतिक्षा खनाल/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, असार २५ । यतिबेला राजधानीको चोकचोकमा फोहोर थुप्रिएको छ ।
जिम्मेवार निकाय काठमाडौं महनगरपालिका भने विभिन्न बहानामा पन्छिने गरेको छ । कहिले ल्यान्डफिल साइटसम्म पुग्ने सडकको अवस्था त कहिले स्थानीयवासीको अवरोधलाई कारणकारुपमा अघि सार्नु महानगरपालिकाको बानी भइसकेको छ ।
तर, चाँडै सिसडोलको विकल्प नखोजे सडकमा फोहोरको डंगुर थुप्रिने निश्चित छ ।
नुवाकोट जिल्लाको सिसडोलमा रहेको ल्यान्डफिल साइटमा क्षमताभन्दा बढी फोहोर थुपारिएको छ ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि वि.सं. २०६२ सालदेखि प्रयोगमा ल्याइएको सो स्थान विकल्पको अभावका कारण अझैपनि प्रयोगमा छ ।
दुई/तीन वर्षका लागि भन्दै बनाइएको ल्यान्डफिल साइट १२/१३ वर्षसम्म चलिरहँदा पनि अर्को ल्यान्डफिल साइट बनाउने सुरसार छैन ।
सरकारको वैकल्पिक योजनामा नुवाकोटकै बन्चरेडाँडा रहेको छ । तर, पूर्वाधार निर्माणको क्रम निकै सुस्त रहेको र कम्तीमा तीन/चार वर्षअघि प्रयोगमा ल्याउन नमिल्ने महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि कुँवर बताउँछन् ।
फोहोरको प्रकृतिअनुसार छुट्टाएर व्यवस्थापन नगरिने भएकाले पनि ल्यान्डफिलमा फोहोरमैलाको मात्रा बढेको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक करिब ११ सय मेट्रिकटन फोहोरमैला संकलन हुने गर्दछ । त्यसको करिब ७० प्रतिशत कुहिने फोहोर हुन्छ ।
धेरै मात्रामा रहेको कुहिने फोहोर फरक ढंगले व्यवस्थापन गर्नसके अन्य फोहोरलाई व्यवस्थापन गर्न सहज हुने थियो । तर, यसतर्फ सरोकारवाला निकायले खासै ध्यान दिएको देखिँदैन ।
संकलन गरिएको फोहोरमैला सीधै ल्यान्डफिल साइटमा पठाइने गरेको प्रमुख कुँवरले बताए ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन दशकौंदेखि समस्याको विषय बन्दै आएको छ ।
महानगरपालिकाले न नुवाकोट जिल्लाको सिसडोलमा रहेको ल्यान्डफिल साइटको विकल्प खोज्न सकेको छ न त त्यसलाई व्यवस्थित बनाउन नै ।
प्रतिक्रिया दिनुहोस्