Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


‘बहुचर्चित काठमाडौं–निजगढ फास्ट ट्र्याक नेपालले नै बनाउनुपर्छ’


0
Shares

काठमाडौं, भदौ २८ । नयाँ शक्ति पार्टी नेपालले बहुचर्चित काठमाडौं–निजगढ ‘फास्ट ट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैंले निर्माण गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन आयोजना निर्दिस्ट समयमा पूरा गर्न जोड दिनुपर्ने सुझाव दिएको हो ।

पार्टी संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको पूर्णसफलताको शुभकामना दिँदै भिन्न परिवेशमा गरिएको सन् १९५० को सन्धि तथा अन्य सन्धि–सम्झौताको पुनरावलोकन, नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुपर्ने सुझाव दिएको पार्टीले जनाएको छ ।

नेपाल–भारत सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समयानुकूल विकसित र परिमार्जित गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

राजनीतिकरुपले स्थिर र आर्थिकरुपले समृद्ध नेपालमात्रै दुबै छिमेकी भारत र चीनको सुरक्षाको भरपर्दो साझेदार बन्न सक्ने नवीन अवधारणा प्रस्तुत र स्थापित गर्न प्रयत्न हुने विश्वास लिइएको संयोजक भट्टराईद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल–भारत सम्बन्धको एउटा ठूलो समस्याकोरुपमा भारतसँग बर्सेनि डरलाग्दो ढंगले बढ्दै गएको व्यापार घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले भारतसँग वार्षिक आयात–निर्यात अनुपात १० गुणाभन्दा बढी रहेको छ । रासस