२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


नेपाली प्रहरीचौकीमा भारतीय फोनको प्रयोग


0
Shares

लमही, चैत २६ । दाङको नाका क्षेत्रका प्रहरीचौकीमा भारतीय फोन नम्बरको प्रयोग भइरहेको छ ।

नेपालका कुनैपनि सिमको टावरले काम नगर्ने भएपछि दाङको नाका क्षेत्रका प्रहरीचौकीले भारतीय फोन नम्बर प्रयोग गरिरहेका हुन् ।

नाका क्षेत्रका हरेक गतिविधि भएमा भारतीय फोन नम्बरबाट जिल्ला प्रहरीलाई जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

‘अझैपनि नाकामा नेपाली फोनले काम गर्दैन । त्यसैले भारतीय नम्बर प्रयोग गर्नुपर्ने बाध्यता छ’–उनले भने–‘यताबाट सम्पर्क गर्न खोज्दा भारतीय नम्बरमा फोन गर्नुपर्छ । त्यो पनि आवश्यक परेको बेला फोन लाग्दैन ।’

पाण्डेकाअनुसार प्रहरीचौकीका केही गतिविधि जिल्लामा जानकारी गराउनुपर्दा पनि भारतीय नम्बर वा एक घन्टामाथि डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ ।

‘नेपाली सीमकार्डमात्रै होइन, प्रहरीले प्रयोग गर्ने सेटले पनि काम गर्दैन’–उनले भने–‘त्यसैले उताबाट केही जानकारी दिनुपरेमा एक/डेढ घन्टा हिँडेर डाँडामै पुग्नुपर्छ । कि त भारतीय फोनबाट फोन गर्नुपर्छ ।’

जिल्लाबाट खबर गर्नुपर्दा भने समस्या हुने गरेको उनको भनाइ छ । 

अहिले सीमा प्रहरीचौकी खंग्रा, भैसाही, कोइलाबास र अतिरिक्त प्रहरी पोस्ट सिरियानाका, डगमारा नाका र मुसिनाकाले भारतीय फोन नम्बर प्रयोग गर्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

भारतीय नम्बरले पनि राम्रोसँग काम नगर्दा अहिले त्यहाँका विभिन्न घटना टिपाउन ढिलाइ हुने गरेको उनले बताए ।

केही दिनअघिमात्रै नाकामा आगलागी भएको घटना पनि जिल्लामा ढिला गरीमात्रै सूचना आएको स्मरण गर्दै उनले फोनको अभावमा नाकामा भएका धेरै घटनाहरु ढिलामात्र जिल्लामा ‘रिपोर्टिङ’ हुने गरेको छ ।

अर्कोतर्फ स्थानीयलाई पनि प्रहरीमा सम्पर्क गर्न कठिनाइ भएको छ ।

स्थानीयवासी अमृत खड्काले भने–‘प्रहरीलाई आवश्यक परेको बेला फोन गर्दा लाग्दैन । लागे पनि आवाज राम्रोसँग सुनिँदैन ।’

फोन सेवा प्रभावकारी नहुँदा प्रहरी र नागरिकबीचको दूरी बढेको उनले बताए ।

त्यहाँका नागरिकले प्रहरीलाई फोन गर्नुपरेमा भारत जानुपर्ने बाध्यता रहेको स्थानीयवासी खड्काले बताए ।

‘नाका क्षेत्रमा गर्मीको समयमा बढी आगलागीका र वर्षादमा पहिरोको जोखिम हुन्छ’–उनले भने–‘त्यस्तो समयमा फोन गर्न खोज्दा समयमा फोन लाग्दैन । त्यसले झनै समस्या थपेको छ ।’

सुरक्षा दिने निकायमा सन्चार आदान–प्रदानको समस्या हुँदा नागरिकले सुरक्षाको अनुभूति गर्न नपाएको उनको भनाइ छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय तुलसीपुरले दाङको नाका क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणका लागि सर्वे भइरहेको जानकारी दियो ।

चालू आर्थिक वर्षमा दाङमा ९ ओटा टेलिकमको टावर निर्माण भइरहेको भन्दै ती टावरले दाङका धेरै क्षेत्रलाई ओगट्नेसमेत कार्यालयले जनाएको छ । रासस