२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


बझाङको विकट स्थानमा कसरी बसेका छन् प्रहरी !


0
Shares

डीबी विष्ट 

बझाङ, चैत २६ । बझाङ जिल्लाको धुलीमा २०३५ सालमा स्थापना भएको सीमा प्रहरी चौकी पहिलो पटक प्रमुख जिल्ला अधिकारीले निरीक्षण गरेका छन् । उक्त प्रहरी चौकी स्थापना भए यता उच्च सरकारी तहबाट गरिएको यो नै पहिलो निरीक्षण हो ।

कार्यालय स्थापना भएको ४० वर्षपछि पहिलो पटक निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली हालै धुली पुगेको हो । जिल्लाकै दुर्गम मानिने साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी धुलीको यसअघि कसैले पनि निरीक्षण नगरेको सो कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक माहानन्द जोशीले बताए ।

प्रहरी चौकी धुली पुग्न सदरमुकाम चैनपुरबाट तीन दिन पैदल हिँड्नु पर्छ । सडक संजालसँग समेत नजोडिएको साईपाल गाउँपालिकामा रहेको सीमा प्रहरी चौकी निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी नेपालीले आफुलाई यहाँको समस्या देख्दा निकै दुःख लागेको बताए । प्रहरी कर्मचारीको बासस्थानदेखि नागरिकलाई दिने सेवाका बारेमा बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालीले विकट ठाउँमा समेत राम्रो काम गरेकोमा प्रहरी टोलीलाई धन्यबाद दिए ।

सञ्चारको समेत सुविधा नभएको ठाँउमा सीमा प्रहरी चौकीले जनताको साथी नै भएर काम गरिरहेको देख्दा आफूलाई खुशी लागेको उनले बताए । ‘एक गाउँबाट अर्को गाउँ पुग्न समेत एक दिन पुरा लाग्दो रहेछ । हिमपात भएको समयमा पनि यहाँ कार्यरत प्रहरीले दुःख नभनी काम गर्दा रहेछन्,’ उनले भने ।