
काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणका लागि आज भारत गएका छन् ।
१२५ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल दिल्ली गएका हुन् । टोलीका ४८ सदस्य सरकारी र अरू निजी खर्चमा गएका हुन् ।
दाहालको टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसदसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छ ।
नेपाल वायुसेवा निगमको जहाजबाट प्रधानमन्त्रीको टोली नयाँदिल्ली गएको हो ।
प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख ओनसरी घर्तीमगरसहित उपप्रधामन्त्रीहरु विमलेन्द्र निधि र कृष्णबहादुर महरा विमानस्थलमा पुगेका थिए ।
प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारहरुसमक्ष केही पनि बताएनन् । यसअघि आफ्नो भ्रमण विशुद्ध सद्भावनामा केन्द्रित हुने दावी प्रधानमन्त्री दाहालले गर्दै आएका थिए ।
प्रधानमन्त्री दाहालसहितको टोली नयाँदिल्ली उत्रिएलगत्तै नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।
तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमै बस्नेछन् ।
दोस्रो दिन भारतको राष्ट्रपति भवनमा उनको सम्मानमा आयोजित समारोहमा सहभागी हुने र भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केही उच्च तहका मन्त्रिपरिषद् सदस्यसँग भेट गर्ने कार्यक्रम छ ।
भ्रमणको अन्तिम दिन उनले हिमाञ्चल प्रदेशको नाथपाझाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै हरिद्वारमा रहेको पतञ्जलि योगपीठको औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
दिल्लीमा रहँदा त्यहाँका उच्च तहका भारतीय तथा नेपाली व्यापारीसँग पनि छलफल गरी प्रधानमन्त्रीको टोली असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्