
काठमाडौं, भदौ ३१ । नेपाल र भारतबीच तीनओटा सम्झौता भएको छ ।
भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार भएका सम्झौताहरुमा हुलाकी राजमार्ग निर्माणको व्यवस्थापन र परामर्शदाता नियुक्ति, भूकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतदरको ऋण र पुनःनिर्माणका लागि नेपाललाई ७५ अर्ब रुपैयाँ उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।
परराष्ट्रसचिव शंकर वैरागी र भारतीय विदेशसचिव सुर्वमन्यम जयशंकरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुबै देशका प्रधानमन्त्री दुई देशबीच भएको छलफलबारे जानकारी गराएका छन् ।
दुई देशका प्रतिनिधिसहितको संयुक्त बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गर्दै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध हार्दिक बनाउनेमा जोड दिएका थिए ।
यसअघि, प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता गरेका थिए । हैदरावाद हाउसमा झन्डै ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्