आजदेखि सोह्रश्राद्ध सुरु, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड • Image Khabar Image Khabar


आजदेखि सोह्रश्राद्ध सुरु, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड


Imagekhabar
१ आश्विन २०७३, शनिबार १४:१६

आजदेखि सोह्रश्राद्ध सुरु, नदी किनारमा श्राद्ध गर्नेहरुको भीड

काठमाडौं,असोज १ । आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।

घर, नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ ।

काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।

यो अवधिभर बाबुआमा नहुनेहरुले माछामासु, लसुन, प्याज जस्ता तामसी परिकार खान नहुने धार्मिक परम्परा छ । यस्तै, यस अवधिमा बाबुआमा नहुनेहरुले एकछाक मात्रै खाने चलन पनि छ ।

आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता छ ।

हिन्दू धर्ममा पितृको स्थान देवताभन्दा पनि माथि रहने गर्दछ । ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु अघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादशैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा संपूर्ण पितृको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्