सरकार बचाउन एउटी आमा बेश्या बनिदिनुपर्ने ? • Image Khabar Image Khabar


सरकार बचाउन एउटी आमा बेश्या बनिदिनुपर्ने ?


Imagekhabar
१ आश्विन २०७३, शनिबार १६:२८

सरकार बचाउन एउटी आमा बेश्या बनिदिनुपर्ने ?

-कल्पना दंगाल

आँखाका छेउमा मसिना धर्का बसिसकेका छन् । गालामा गाढा कालो बनेर बसेको पोतो पाउडरले अस्वभाविक रुपमा छोप्न खोजिएको छ । हातहरु सुख्खा रुखो छ । भर्खरै काटिएको जस्तो देखिने कपाल पनि जटा जस्ता देखिन्छन् र पनि उ आफुलाई सुन्दर देखाउनका लागी कुनै कसुर छोडेकी जस्ती देखिन्न । ए साँच्चै आफुलाइ हैन अरुलाई देखाउन पो भन्नु पर्ने मैले ।

पानी परिरहेछ न आफुसंग छाता छ न त कुनै गाडी नै खाली आउँछन् । म अवाक भएर सडकको पेटिमा गएर उभिन्छु । उनी अघि देखि नै सडक पेटिमै उभिरहेकी छिन् । मलाई अचम्म लाग्यो । आधा घण्टा भन्दा बढी भयो म यहाँ बसेको तर उनी न कुनै गाडी चढ्छिन न मतलव गर्छिन । कसैलाई कुरिरहेको हो जस्तो पनि लाग्दैन थियो । न फोन नै आउथ्यो न घडि नै हेर्थिन । म पेटिमा उनीसंगै उभिन पुग्छु उनी उपेक्षित नजरले मलाई हेर्छिन । मलाई झनै अचम्म लाग्यो ।

अहँ, अझै कुनै पनि गाडी खाली आएन । ‘तपाइ कहाँ पुग्ने हो दिदी’अहँ मेरो प्रश्नका कुनै उत्तर छैन् । अलि हिनता बोध भयो आफैलाई । बेकार सोधेछु जस्तो पो भयो । १५ मिनेट जति पछि उनी बोलिन् ‘कोहि आफन्त बोलाएर जानु नी ,लोग्ने छैन ?’ मलाई पनि अघिको झैं उनैको सिको गरेर उत्तर नदिउकी जस्तो लाग्दै थियो तर बोलिहालें । ‘यो मुसलधारे पानीमा कसलाइै पो बोलाउनु र दिदी ,मेरो बुढा पनि कामले भक्तपुर जानु भएको छ ,ट्याक्सि पनि एउटा खाली आउँदैन बिजोक भो आज ।’

हाम्रै अगाडी आएर एउटा अलि पुरानो मोटरसाइकल रोकियो । रेनकोट, चस्मा र हेलमेटले कोहो भन्ने नै चिन्न सकिएन् । सुरुमा त लागेको थियो । मलाई चिन्ने कोही रहेछ । सायद मलाई देखेर रोकेको होला । तर, पुरुष आवाज ‘ओइ जान्छेस, ? आइज’ ‘तँ मुर्दो नार्मदसंग जानु भन्दा भोकै मर्छु नी ।’ ‘तँ नकचरीले असाध्यै राम्री भन्ठान्छेस कि क्या हो आफुलाई, दश बेत ब्याए जस्ती देखिन्छेस । सडक मै मर्छेस तँ, भाउ नखा । तेरो लास उठाउन पनि कोहि आउदैन ।’ त्यो पुरुष आवाज यति कर्कश र तुच्छ थियो कि शायद आम मानिस सुन्न सक्दैनन् । उ यति घृणित व्यवहार र शब्द चुन्दै थियो जो कुनै आइमाईले सुन्नै सक्दैनन ।“ तँ नार्मद मेरो बेइज्जत नगर बाटो बाटोमा । तँ पातकीले लगेपछि हिसाब दिनु पर्यो भने अनुहार लुकाउँछ ।”

उनीहरुबिच सात मिनेट जस्तो भनाभन चलिरहेको थियो । कति शब्द र कति अपशब्द चुनिए भनेर हिसाब गर्दा अपशब्दकै तौल बढी थियो । उनी पनि सभ्य भएर बोलिरहेकी थिइनन् , हरे, एउटी आइमाइ यस्तो पनि बोल्न सक्छे भन्ने लाग्दै थियो । उनीहरुको भनाभन सुन्न केहि मानिस नजिक परिरहेका थिए । एउटा सामान्य मानिसका लागी पाच्य कुरा केहि पनि थिएनन् । अति नै अप्ठेरो लाग्यो । मुखमा मास्क लगाएर अलि पर गएर उभिएँ । त्यो पुरुष सराप्दै मोटरसाइकलमा दौडियो ।

त्यो झरिमा पनि उनका आँखा रसाएका प्रष्टै देखिए । सायद मानिस हुनुको सबैभन्दा ठुलो कुरा यहि नै होला सबै कुरा भन्न पर्दैनन् भाव भङ्गिमा र आँखाले पिडा बोलेको थाहा पाइन्छ । दिदी नरुनुस, कहिलेकाहीं लोग्ने–स्वास्नीमा झगडा भैहाल्छ नी मैले नजिकै गएर भने । साँचै भन्नु पर्दा नजिक जान पनि अलि अप्ठेरो लाग्दै थियो । उनका आँखाबाट अघि भन्दा अझ धेरै भल बगिरहेको थियो । अचानक उनी बोल्न थालिन । ‘पोइ भन्ने नार्मद जिउँदै नमरेको भए त यो दिन किन आउथ्यो र ?’

त्यसपछि उनले आफना बारेमा जुन कथा भनिन सुन्न सकिने थिएन । त्यतिबेला लाग्यो पिडा भनेको त यो पो रहेछ । उनकै शब्दमा ‘मर्न भन्दा पनि बाँच्न गारो भो बैनी ।’ आफु त मरिदिन्थे दुई वटी छोरी छन् । उनीहरुलाइ मारिदिउँ भने पनि दुनियालेँ कस्ती पापी आमा भन्लान, जिउँदो राखौं भने अघि आएजस्ता पातकीका गाली त कति सन्नु पर्छ पर्छ मैले ।

लोग्नेले बिहे गर्ने बेलामा कहिले दुःख दिन्न भन्थ्यो । हुन त माइतमा पनि सुख त कहाँ थियो र आमा बालखैमा मरिन, बाउ जाँड खाएर हिड्थे । दाजुभाई स्वास्नी टिप्दैै हिड्दै गर्न थाले केहि सिप नलागेर त्यो मुर्दोसंग हिडेकी म पनि । पहिला त बिहे गरे पछि त सुख पाइएला जस्तो लाग्थ्यो बैनी । दुःखीलाई दुखै त रछ नी । यि दुइटी छोरीहरु हैजाले मरे पनि हुने अनि म मर्ने बाटो पाउँथे । मुटु्को रगत घाँटी थिचेर मार्न सकिदो रहेनछ । लोग्ने भन्ने मर्यो भने पनि एक थोपो आँशु झार्दिन थिएँ । त्यो किरा परेर मरोस । छोराछोरीले भोक लाग्यो भनेको सुन्न सकिएन जाडो भो भनेको सुन्न सकिएन ।

मैले बल्ल बुझें उनी ग्राहक कुरेर बसेकी रहेछिन् । एकछिन त आफैलाई डरलाग्यो । समाचारमा मात्र सुनेका कुरा आँखा अगाडी छन् । कुन दुनियाँ होला यो जस्तो पो भयो । मैले उनीलाइ आफु पत्रकार भएको कुरा बताए । उनी र उनका छोरीहरुको लागी सम्बन्धित केहि संस्थामा पहल गरिदिने पनि बताए तर उनीले इन्कार गर्दै भनिन । “मैले ति संमस्था चिनिसककेको छु । एउटामा पुगेको थिए एकपटक भोली र पर्सि भन्दै लोग्नेसंग मिलापत्र गरेर पठाइदिन्छु भन्यो । म त्यो लोग्नेसंग किन बसौं ? किन सम्झौता गरौं ? उसले मलाई बारम्बार जड्याहाको रखौटी बनायो । उसैले त हो नी मलाई यो काममा लगाको । त्यो पातकीलाई जाँड खुवाउन किन म अरुको ओछ्यान बन्नु र ।”

छि लोग्ने यति पतित पनि हुँदा रहेछन् । यो पुरुष जाति प्रति नै घिन लाग्छन यि कुरा सुन्दा । उनी भाडामा बस्ने घरका घरबेटीका छोराले उनकी ५ बर्षीया छोरीलाई दुव्र्यवार गरेको कुरा पनि बताइन उनले । त्यसपछि उनीलाई केहि सोध्ने बोल्ने जाँगर नै चलेन् । म आफनो गन्तव्यमा लागें तर यि कुरा मनमा एउटा गाँठो झै बनेर बसे । के आइमाई हुनुमा पनि दोष छ र जस्तो लाग्यो । घृणा लाग्यो उनको लोग्ने जस्ता पशु–पुरुष ,यो रमिते र लाचार सरकार देखेर ।

त्यसदिन देखि एउटै कुरामा गुनासो गर्न मन छ सरकार कुनै पनि आइमाइले बाँच्नका लागी शरिर बेच्न नपरोस । कुनै पनि मानिस बाँच्नकै लागि अनिच्छित काममा लाग्न नपरोस । के हाम्रो समाज रमिता हेर्न र हाम्रो कानुन ठेली ठुलो बनाउनकै लागी लेखिएको हो र ? कानुनको प्रत्याभुति गर्न पाइयोस । समाजको सकारात्मक समालोचना सुन्न पाइयोस । आइमाइलाई वेश्या बनाउने समाज र पुरुष जातिहरु किन चोखिन्छन् ? रहरले कुनै पनि आमा वेश्या बन्दिन

अखबारमा एउटी महिलाले आफु सहित आफ्ना सन्तानहरुको हत्या गरेको पढ्दा हामी आत्तिन्छौं कसरी होला किन होला भनेर आखिर जड त यस्तो हुँदो रहेछ । परिवार समाज र राष्ट्रले उपेक्षा गर्दा एउटी आमा वेश्या हुन पुग्छे । गास बासकै लागी शरिर बेच्न बाध्य हुनुपर्ने अवस्था अझै पनि हाम्रो मुलुकमा सुहाउँदैन सरकार ।

राष्ट्रपति, प्रधानन्यायाधिस र सभामुख महिला भएको मुलुकमा एउटी आमा सन्तान मरेहुन्थ्यो भनेर कुरिरहेकी छे । एकदिन बसपार्क, रत्नपार्क र ठमेलका होटलमा गएर हेर नियतिले किचेका र विवशताको कडिमा अल्झिएका हरेक आइमाईमा आफ्नै आमा र दिदी बहिनी अनुहार देखिन्छन् । आइमाई भएर जन्मिएकै कारण बलात्कृत हुनुपर्छ भने र वेश्या बन्नै पर्छ भने सरकार छोडिदेउ लोकतन्त्र र गणतन्त्रका कुरा गर्न ।

यि सबै शब्दहरु मेरा हुन तर पिडा उनै रत्नपार्ककी दिदीका…. ।

प्रतिक्रिया दिनुहोस्