Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको परराष्ट्रमन्त्री डा. महतको दावी


0
Shares

काठमाडौं, असोज १ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन् ।

नयाँदिल्लीमा आज पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. महतले सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य भएकाले यो भ्रमण सफल भएको बताए ।

भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको भन्दै उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकीर गरे ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने दाबी गरे ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने उनको भनाइ थियो ।

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा. महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिए ।

उनले नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम गरेको, त्यसलाई अझै विकसित गर्ने र कतिपय माग सम्बोधन गर्ने सरकारको पहललाई पनि भारतले सकारात्मक रुपमा लिएको उनको भनाइ थियो ।

Skip This