Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


रोगले गोलभेंडा सखाप,अब कसरी जोगाउने ? (भिडियो हेर्नुहोस)


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, असोज १ । उत्पादन लिने समयमा विभिन्न रोग किराको प्रकोपले सताउन थालेपछि धनकुटाका गोलभेंडा उत्पादक कृषक समस्यामा परेका छन् ।

अघिल्ला बर्षहरुमा सामान्य रुपमा मात्र देखिने असर यो वर्ष भने प्रकोपकै रुपमा देखिएपछि कृषकको चिन्ता चुलिएको हो ।

गोलभेडामा डडुवा, दानामा थोप्लो लाग्ने तथा ढुसी जन्य रोग देखिएपछि यो बर्ष धनकुटाका गोलभेडा उत्पादक कृषक चिन्तित बनेका छन् । गत बर्षहरुमा सामान्य रुपमा मात्रै देखिने यो रोग यो बर्ष भने ब्यापक रुपमा देखिएको हो ।

धनकुटा नगपालिका, पाख्रिवास, आखिसल्ला, बुढिमोरङ्ग लगायलको क्षेत्रमा यो समस्या ब्यापक रुपमा देखिएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जनाएको छ ।

गोलभेडा बिक्रि गरेर दशैं तथा तिहारलाई खर्चको जोहो गर्ने समयमा देखिएको रोगका कारण कृषक भने निकै चिन्तित बनेका छन् । अघिल्ला बर्षमा देखिने सामान्य रोग भन्दा फरक प्रकारको रोगले सताएको कृषकको गुनासो छ ।

गत बर्षहरुमा डढुवाका कारण फल तथा बोटनै खुईलिने रोग सामान्य रुपमा मात्रै देखिने गरेकोमा यो बर्ष भने सो रोग संगै फलमा छिर्का बस्ने रोगले गोलभेडाको पुरै वगान नै नष्ट गर्न थालेको हो ।

बिभिन्न रोगका कारण बर्खे गोलभेडाको उत्पादनमा यो बर्ष ३० प्रतिशतले कमि आउने जिल्ला कृषि बिकास कार्यलय धनकुटाले जनाएको छ । गत बर्ष धनकुटामा ८ सय ७५ हेक्टर क्षेत्रफलवाट ३२ हजार ३ सय ५० मेट्रिकटन बर्खे गोलभेडा उत्पादन भएको थियो ।

बिगतका बर्षहरु भन्दा यो बर्ष पनि बढि परेकाले गोलभेडामा बढि असर देखिएको जिल्ला कृषि बिकास कार्यालय धनकुटाका प्रमुख लक्ष्मी प्रसाद खरेल बताउँछन् ।

बढ्दो रोग किराको दिर्घकालिन नियन्त्रणको लागि गोलभेडाको बगैंचा ब्यबस्थापन, बर्खाको समयमा पानी सहने जात तथा प्लास्टीक घरको प्रयोग गर्न कृषि प्राबिधिकको सुझाव छ ।

त्यस्तै हाल देखिएको रोग किराको तत्कालिन ब्यबस्थापनको लागि रोग लागेको फल हटाउने, रोगी बिरुवालाई नष्ट गर्ने, तामा युक्त तथा ढुसिनासक बिषादी प्रयोग गरे केही हद सम्म कृषक आफैंले नियन्त्रण गर्न सक्ने जिल्ला कृषि बिकास कार्यलय धनकुटाका बाली संरक्षण अधिकृत छबिलाल घिमिरे बताउँछन् ।

तराईमा यो सिजनमा गोलभेडा उत्पादन नहुने भएकाले यो बेला धनकुटाको गोलभेडाको माग बढी हुने गरेको छ ।

बर्खामा उत्पादित यहांको गोलभेडाले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहासहित हेटौंडा, चितवन, पोखरा, काठमाण्डौलगायतका क्षेत्रको केही हदसम्म माग धान्ने गरेको छ ।