२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने निर्देशन कार्यान्वयन नगर्न आदेश


0
Shares

काठमाडौं, चैत २५ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको रिटमा सोमबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्कालका लागि निर्णय कार्यान्वयन नगरी यथावस्थामा राख्न आदेश दिएको हो ।

सर्वोच्चले आउँदो वैशाख ३ गते दुवै पक्षलाई छलफलका लागि डाकेको छ ।

अघिल्लो सोमबार बसेको मन्त्रिपरिषदको बैठकले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय गरेपछि त्यसको भोलिपल्टै गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै नागरिकता वितरण गर्न निर्देशन दिएको थियो ।

उक्त निर्देशन कार्यान्वयनमा गइसकेको छ भने बितेको ४/५ दिनमा सयौंले वंशजको नागरिकता लिइसकेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले सर्वोच्च अदालतको आदेशअनुसार निर्णय गरेको दाबी गर्दै आएका छन् ।