
ध्रुव भट्टराई (इमेज)
विराटनगर, चैत २५ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ ।
सोमबार एकै दिनमा १३८ जनाले वंशजको नागरिकता लिएका छन् ।
गृह मन्त्रालयले परिपत्र गरेलगत्तै पहिलोपटक मोरङबाट इशा चौधरी अग्रवालले वंशजको नागरिकता प्राप्त गरेकी थिइन् ।
सोमबार १३८ जनाले नागरिकता लिए भने अन्य ६२ जना प्रक्रिया पूरा गरेर नागरिकता लिने लाइनमा छन् ।
नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले नागरिकता सिफारिस फाँटमा कर्मचारी थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले जानकारी दिए ।
सामान्य दिनमा नागरिकता सिफारिसका लागि एकजना प्रशासकीय अधिकृत खटाउने गरिएकोमा अहिले सिफारिसका लागि दुईजनालाई खटाइएको र सातजना सहयोगी खटाइएको पाण्डेले बताए ।
छोरी रुही अग्रवालको नागरिकता बनाउन पुगेका विराटनगरका श्रवण अग्रवालले नागरिकता नहुँदा उच्च शिक्षा र सामान्य रोजगारी गर्नसमेत समस्या हुँदै आएकाले अहिले नागरिकता पाउँदा खुसी लागेको बताए ।
मोरङमा २० हजार ४९१ जनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका छन् ।
वि.सं. २०२० सालदेखि चालू आर्थिक वर्षको चैत २० गतेसम्ममा १५ हजार ८०४ जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्