१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


हावाहुरी प्रभावित सबै ‘टेन्ट’भित्र


0
Shares

बारा, चैत २५ । बारा र पर्सामा भीषण हावाहुरी प्रभावित ९४० घरघुरीका सबैलाई त्रिपाल र टेन्टमा राख्ने काम सकिएकोे छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलकाअनुसार ९४० घरबारविहीन सबैलाई टेन्टभित्र ल्याइएको हो ।

आशिंक क्षति पुगेका एक हजार ८५५ घरहरुमासमेत आवश्यक सहयोग जारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

गत साता आएको हावाहुरीले बाराका फेटा, परवानिपुर, प्रसौना, सुर्वणपुर, देवताल गाउँपालिका, पचरौता नगरपालिका र कलैया उपमहानगरपालिकामा गरी ९४० घर पूर्णरुपमा र ९५५ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

हावाहुरीका कारण २८ जनाको मृत्यु भएको छ भने झन्डै ७०० जना घाइते भएका छन् ।

१६ गाउँमा सयौं परिवार घरबारविहीन भएकाले उनीहरुलाई विभिन्न संघ–संस्था र व्यक्तिबाट राहत सहयोग पुर्‍याइएको छ ।

पीडितहरुलाई भाँडाकुँडा, बेबी प्याक, पानी शुद्धीकरण सामग्री, अस्थायी आवास निर्माण सामग्री, ब्लांकेट, म्याट, साडीलगायत सामग्री वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

यता जिल्ला विपद् व्यवस्थापन समितिले सन्चालन गरेको राहत कोषमा सोमबारसम्म करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।