Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सप्तकोशी नदीमा डुंगा डुब्दा बेपत्ता भएका १० जनाको नाम सार्वजनिक


0
Shares

सुनसरी, असोज २ । सुनसरीस्थित सप्तकोशी नदीको भंगालोमा डुंगा डुब्दा १० जना बेपत्ता भएकाको नाम सार्वजनिक गरिएको छ ।

वेपत्ता भएकाहरु अझ बढ्न सक्ने बताइएपनि अहिलेसम्म १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको हो ।

बेपत्ता हुनेमा चार बालिका, पाँच महिला र एक डुंगा ठेकेदार छन् । जसमा महेन्द्रनगर–५ का गोल्छा झाको ७ वर्षीया छोरी रेखा, २५ वर्षीया बहिनी मीना छन् ।

यस्तै सोही ठाउँका भीमा झाको ३ वर्षीया छोरी पुनम, महेन्द्रनगर–४ पटवारी उरावकी नाम नखुलेकी १४ वर्षीया छोरी, ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर–४ की ३० वर्षीया सीता कविरथ, प्रकाशपुर–५ का गोल्टु चन्द्रवंशीकी १२ बर्षीया छोरी र ५५ बर्षीया चननदेवी यादव बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगा डुब्दा ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन् ।

शनिबार डुंगा डुबेलगतै ३७ जनाको उद्दार गरिएपनि अझैसम्म उनीहरु वेपत्ता रहेको सुनसरीका वरिष्ठ प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

बेपत्ताको खोजी गर्न पाँचवटा टोली मोटरबोट र डुंगामार्फत परिचालन गरिएको छ । सुनसरीकै श्रीलंका टापुबाट कोशी पूर्वको प्रकाशपुर आउने क्रममा शनिबार दिउँसो १२ बजेतिर डुंगा डुबेको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । श्रीलंका टापु प्रकाशपुर र महेन्द्रनगरको एक–एकवटा वडा अलग्गिएर बनेको चार हजारभन्दा बढी बासिन्दाको वस्ती हो ।

मधेसको आदिवासी चन्द्रवंशी लगायत सबै खाले जातजाती पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबाँस श्रीलंका टापुका बासिन्दाका लागि कोशी वारपार गर्ने एकमात्र साधन डुंगा हो ।