
काठमाडौं, असोज २ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्ति नेपाल र नेपाली जनताको हित विपरीत रहेको ठहर गरेको छ ।
सो पार्टीका अध्यक्ष मोहन वैद्यले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भाद्र ३० देखि आश्विन २ गतेसम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भएको छ । नेपाल र भारतका प्रधानमन्त्री मार्फत् एउटा संयुक्त वक्तव्य पनि जारी गरिएको छ । नेपालका प्रधानमन्त्रीका तर्फबाट यो भ्रमण भारतसितको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन र विश्वासको वातावरण बनाउन पूर्ण सफल भएको अभिव्यक्ति पनि दिइएको छ । परन्तु, सो वक्तव्य नेपाल र नेपाली जनताको हित विपरीत रहेको देखिन्छ ।’
भारतसँग गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको भन्दै अध्यक्ष वैद्यले प्रधानमन्त्री दाहालको सो कार्यलाई ‘गम्भीर राष्ट्रघात’ संज्ञा दिएका छन् । यसबाट भविष्यमा अझ राष्ट्रघाती सन्धि सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट भएको उनको भनाइ छ ।
‘संयुक्त वक्तव्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत आयोजनालाई ब्यूँझाइएको छ । बिप्पाप्रति सहमति जनाइएको छ । माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जाव्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिंदै व्यापार, पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिक लगायत विविध पक्षमा भारतीय विस्तारवादद्वारा गरिएका हस्तक्षेपलाई नवीनीकरण गरिएको कुरा स्पष्ट देखिन्छ,’ वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सो सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उम्मेदवारीमा भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीति विपरीत भएको पनि अध्यक्ष वैद्यले जनाएका छन् । ‘संविधान निर्माणलाई आन्तरिक मामिला बताउँदै आएका नेपालका प्रधानमन्त्री सो संविधान संशोधन लगायतका विषयमा भारतीय प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारतमा गएको र त्यो पनि सफल बन्न नसकेको कुरा सो संयुक्त वक्तव्यद्वारा जाहेर हुन गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टी भारतसित गरिएका सन् १९५० लगायत ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत परियोजना लगायतका असमान तथा राष्ट्रघाती सन्धि सम्झौता एवम् सहमतिहरुको खारेजीसहित नयाँ आधारमा नयाँ सम्झौता सहमति गर्नका लागि विशेष जोड दिन्छ ।’
नेपालका प्राकृतिक तथा मानवीय स्रोत साधनहरुको नेपाली जनताकै हितमा उपयोग गर्न र बाह्य हस्तक्षेप तथा राष्ट्रघातका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ ढंगले संगठित तुल्याउन पार्टीका तर्फबाट अध्यक्ष वैद्यले पुनः प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्