७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


सप्तकोशीमा बारम्बार डुंगा दुर्घटना हुनुमा कसको कमजोरी ? (भिडियो रिपोर्ट)


0
Shares

रत्न आचार्य
सुनसरी, असोज २ । सुनसरीको श्रीलंका टापुका बासिन्दाले सप्तकोसीमा डुंगा तर्दा बारम्बार दुर्घटनामा परी ज्यान गुमाउँदै आएका छन् । स्थानीय प्रशासनले न नियम विपरीत चलाइएका डुंगाहरु नियन्त्रण गर्न सकेको छ न त स्थानीयलाई नदी पार गर्न वैकल्पिक उपाय नै दिन सकेको छ ।

शनिबार क्षमता भन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा सप्तकोसी नदीमा दर्जन बढी सर्वसाधारण बेपत्ता भए । दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिए पनि बेपत्ता भएकाहरु अझै फेला पर्न सकेका छैनन् । दुर्घटनामा परी सप्तकोशीमा डुबेका ३७ जनालाई भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका थिए ।

राज्यको नजरमा नपरेको सुनसरी र उदयपुर जिल्लामा पर्ने कोसी टप्पुका बासिन्दा जीविकोपार्जनका लागि सुनसरीको महेन्द्रनगर र प्रकाशपुर बजार आउने गदर्छन् । शनिबार पनि तरकारी बिक्रीका लागि प्रकाशपुर बजार आउँदै गर्दा डुंगा दुर्घटनामा परेको हो ।

सप्तकोसीमा दर्जनौं पटक डुंगा दुर्घटना भईसकेको छ । डुंगा दुर्घटनामा परेर एक सय ५० बढीको ज्यान गईसकेको छ । डुंगा तर्नेहरुलाई लाइफ ज्याकेटसम्म नदिइँदा डुंगा दुर्घटना हुँदा सर्वसाधारणले ज्यान गुमाउनु परेको स्थानीयको गुनासो छ ।

६० जना यात्रु बोकेर प्रकाशपुर आउँदै गरेको डुंगा दुर्घटनामा परेपछि अहिले सिंगो कोसी टप्पु शोकमा डुबेको छ । प्रकाशपुर र महेन्द्रनगर गाउँ विकास समितिले ७ लाख रुपैयाँमा बर्षेनी सप्तकोशीमा डुंगा संचालन गर्न ठेक्का लगाएर राजस्व संकलन गरेको भए पनि डुंगामा सवार यात्रुहरुको सुरक्षाका लागि न्युनतम सुविधा समेत नदिएको स्थानीयको गुनासो छ ।

कोसी टप्पुका करिव ५ हजार सर्वसाधारणलाई कोसीमा डुंगा चढेर यात्रा गर्नु बाहेकको विकल्प केही नभएका कारण बर्षायाममा पनि यहाँका बासिन्दा सप्तकोसीमा डुंगा तरेर आफ्नो जीविका चलाउँदै आएका छन् ।

सरकारले कोसी टप्पुका बासिन्दालाई सामान्य सेवा सुविधासमेत प्रदान नगरेका कारण स्थानीयबासी नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न प्रकाशपुर र महेन्द्रनगरको हाट बजार आउने गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्