काठमाडौं, असोज २ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएको एक वर्ष पुरा भएको अवसरमा आइतबार राजधानीमा कार्यक्रम गरी पहिलो संविधान दिवस मनाइएको छ ।
व्यवस्थापिका संसद सचिवालयले संसद भवन नयाँ बानेश्वरमा गरेको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीमगर, प्रधानन्यायाधीश सुशीला कार्की, संवैधानिक निकायका प्रतिनिधिहरु, मन्त्रीहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।
समारोहमा सभामुख घर्तीमगरले संवैधानिक व्यवस्था अनुसार आगामी वर्षको माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघको निर्वाचन गरिसक्नुपर्ने भएकोले सबै राजनीतिक दलहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सँगै होमिएका राजनीतिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि सबै पक्षको सार्थक र एकीकृत प्रयास आवश्यक भएको बताइन् ।
सात दशक लामो संघर्षको प्रतिफलस्वरुप गतवर्ष असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्