७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


अबिरल बर्षाका कारण जमिनको धाँजा फाट्यो, ३४ घरपरिवार विस्थापित


0
Shares

म्याग्दी, असोज ३ । म्याग्दीको बेगखोला गाविसको बाँसबोट, लिस्ने र भजनी गाउँमा खसेको पहिरोका कारण ३४ घरपरिवार विस्थापित भएका छन् ।

शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै जमिन धाँजा फाटेर बग्न थालेपछि तीन गाउँका ३४ परिवार विस्थापित हुनुका साथै थप ११ ओटा घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

गाउँको दुबैतिरबाट पहिरो खसेर जमिन बगेपछि पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोका कारण जोखिममा परेको वस्तीलाई रेडक्रस, प्रहरी र स्थानीयवासीको सहयोगमा गाविस भवनमा सारिएको छ ।

फेरि वर्षा भएमा पहिरो जाने सम्भावना अझै रहेको छ । विस्थापित परिवारलाई रेडक्रस म्याग्दी शाखामार्फत कम्बल, त्रिपाल र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

पहिरोको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाई पीडितहरुलाई खाद्यान्नलगायत आधारभूत सहयोग गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिए ।