
म्याग्दी, चैत २५ । म्याग्दीमा केही दिनदेखि लगातार परेको असिनापानीले लाखौं मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ ।
असिनापानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ ।
जिल्लाको मंगला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिनापानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको हो । अत्यधिक वर्षाका कारण मंगला–३ को वडा कार्यालयबाट झाँक्रेपानीसहित विभिन्न बस्ती जोड्ने ग्रामीण सडकसमेत प्रभावित भएको स्वास्थ्य चौकीका अहेव बबरजंग पालले जानकारी दिए ।
सडक आसपासका क्षेत्रमा पहिरो गएपछि खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानीको समेत समस्या भएको छ । पहिरोका कारण वडा नं. ४ को दुर्दी, भित्रिवन, महेशगाउँ, धापुङलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ भने पहिरोले खानेपानीका लागि प्रयोग गरिएको पाइप बगाएपछि घरघरमा रहेका धारामा खानेपानीको आपूर्तिसमेत बन्द भएको बताइएको छ ।
असिनापानी र हावाहुरीबाट भएको क्षतिको विवरण संकलन र तत्काल सडक तथा खानेपानी नियमित बनाउने प्रयास जारी रहेको वडा नं ४ का अध्यक्ष ओमबहादर रोकाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्