
ललितपुर, असोज ५ । ललितपुरको सांस्कृतिक परम्परा बसुन्धरादेवी नगर परिक्रमा पूजा सम्पन्न भएको छ । यस बर्ष पुल्चोकबाट नगरपरिक्रमा यात्रा सुरु भएको हो ।
विहानै गुरुमण्डल तथा कुमारी पूजा गरी सुरु भएको वसुन्धरा पूजा ललितपुर नगरका ६५ वसुन्धरादेवीस्थान परिक्रमा गरी सम्पन्न भएको हो ।
पालो परेको पुल्चोक टोलमा भने गुरुपूजा, बाजा, गणेश, नाट्यश्वर, खड्गज्योति, विहार लगाएतको दोहोरो पूजा गर्नुपर्ने चलन रहेको छ ।
अन्न, धन, रत्न, प्रज्ञा र श्रीसमृद्धिकी देवीको रुपमा वसुन्धरा देवीको पूजा गरिन्छ । वसुन्धरा पूजामा चामल, धान, गहुँ, कालो भटमास, सियो धागो कपडा, कुचो, डोरी लगायतका सामग्री चढाउने चलन रहेको छ ।
दायाँ कुमकुम वर्णकी महालक्ष्मी, बिचमा पहेलो वर्णकी वसुन्धरादेवी र बायाँ रातो वर्णकी कुमारी रहेको त्रिमुखीय देवी वसुन्धराको पूजा गर्न गरिने नगरपरिक्रमा नेपालकै ऐतिहासिक धार्मिक चलन रहेको आयोजकको भनाइ रहेको छ ।
वसुन्धरादेवीलाई पृथ्वी माताको रुपमा पनि पुज्ने गरिन्छ । यस बर्ष रक्षेश्वर महाविहार महिला समूहको आयोजनामा वसुन्धरादेवी पूजा संचालन भएको हो ।
०६३ सालसम्म निरन्तर चलेको यो चलन ०६४ र ०६५ सालमा आयोजना जिम्मेवारी लिने कोही नभएर रोकिएको थियो । त्यस पछि पुनः गुण कोपरेटिभको सक्रियतामा ०६६ सालबाट पुनः संचालनमा आएपछि हालसम्म निरन्तर चलिरहेको छ ।
यस बर्ष परम्परा अगाडी बढाउन ११ जनाको कार्यसमिति रहेको महिला समूहले आँटेका कार्य सबैको सहयोगमा सम्पन्न भएकोले खुशी लागेको समूहका सचिव निलिमा शाक्यले बताए ।
यो परम्परा संचालन गर्न कुनै निश्चित विधि र आर्थिक स्रोत छैन । परम्परा अगाडी बढाउन वसुन्धरा देवी पूजा आयोजना मूल कमिटीबाट प्राप्त हुने रकममा नपुग विभिन्न ब्यक्ति एवं ब्यवसायीबाट चन्दा संकलन गरी यो परम्परा चलिआएको छ ।
आयोजनाको लागि निश्चित नियम नभइ इच्छा अनुसार आयोजना गरिँदै आएको यो परम्परा ०७४ सालका आयोजना गर्ने जिम्मा लिन इलाय्बही, सुन्धाराका वासिन्दाहरु बाजासहित समापन समारोहमा सहभागी भए । वसुन्धरा पूजा अन्तर्गत मंगलबार वसुन्धरा देवी ब्रत सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्