
फाइल फोटो
काठमाडौं, असोज ५ । देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको छ ।
उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भइ मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिए ।
उनकाअनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ भने सुदूरपश्चिममा कुनै प्रभाव छैन ।
मंगलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गरे ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार सबैभन्दा बढी ओखलढुंगामा ८२ मिलिमिटर वर्षात् भएको छ ।
विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौंमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ ।
बुधबार काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम २९.५ र न्यूनतम् १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्