Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेतृत्व विवादले ठमेल पर्यटन विकास परिषदमा अनिश्चितकालीन तालाबन्दी


0
Shares

काठमाडौं, असोज ५ । नेतृत्वको विषयलाई लिएर ठमेल पर्यटन विकास परिषदमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

परिषदको साधारणसभा स्थलगन र अर्को समूहले नयाँ नेतृत्व घोषणा गरेपछि विवादित बनेको परिषदमा दुई दिनदेखि तालाबन्दी भएको हो ।

परिषदमा केही दिनअघिदेखि विवाद उत्पन्न भएको थियो । पदाधिकारीले एक–अर्कालाई आरोप लगाउँदै संस्थालाई नै बदनाम हुने गरी भइरहेको गतिविधिप्रति व्यवसायी आक्रोसित देखिएका छन् ।

पर्यटकीय मौसम सुरु हुनलाग्दा ठमेलको समग्र पर्यटन प्रवद्र्धन विकासका लागि गठित संस्थामा विवाद देखिनुले पर्यटकमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीले चाँडो समस्या समाधान गर्न दबाब दिएका छन् ।

तर, परिषदका जिम्मेवार पदाधिकारी आ–आफ्नो पक्षमा पद हत्याउन लागिपरेका छन् ।

वर्तमान रामशरण अध्यक्ष थपलिया र परिषदका उपाध्यक्ष समीर गुरुङ समूहबीचको विवादले परिषदको भविष्य अन्योल बनेको हो ।

दुई दिनअघि परिषदका वर्तमान अध्यक्ष थपलिया समूहले घोषित मितिको अघिल्लो दिन साधारणसभा स्थगित गरेपछि परिषदकै वरिष्ठ उपाध्यक्ष समीर गुरुङको नेतृत्वमा साधारणसभा सम्पन्न भएको थियो ।

सभाले अध्यक्ष थपलियालाई हटाएर कार्यबाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई दिएको घोषणा गरेको थियो ।

गुरुङले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएसँगै परिषद छिर्ने घोषणा गरेपछि अध्यक्ष थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति–सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

कार्यबाहक अध्यक्ष गुरुङ समूह मंगलबार परिषद कार्यालय पस्न खोज्दा प्रहरीले रोकेको थियो । अहिलेपनि परिषद कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेको छ ।

दुई समूहबीच कसरी अघि बढ्ने भन्नेबार छलफल भइरहेको छ । सकेसम्म विवाद मिलाएर समझदारीमै अघि बढ्ने दुबै पक्षले बताएपनि त्यसो हुन सकेको छैन । रासस