काठमाडौं, असोज ५ । झुटा विवरण पेस गरी भूकम्पपछिको पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान लिनेलाई कानुनअनुसार कारबाही गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
भूकम्पपीडित जनतालाई घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणकाक्रममा मापदन्डमा नपरेका व्यक्तिले पनि अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले ध्यानाकर्षण गराइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बुधबार राससलाई बताए ।
‘गलत विवरण पेस गरी, झुक्याइ वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदन्डमा नपरेका व्यक्तिले पनि अनुदान सम्झौता गरी पेस गरेको विवरण झुटा ठहरे कारबाही गरिनेछ । कारबाहीका लागि पीडितले मञ्जुर गरी सम्झौता गरेका छन्, यसरी सम्झौता गर्नेले सर्तलाई उल्लंघन गरेको जानकारी प्राप्त भएको छ’–उनले भने ।
पीडितले गलत विवरण पेस गरी अनुदान लिएको उजुरी परेमा र छानबिनपछि दोषी प्रमाणित भएमा सरकारले प्रचलित कानुनबमोजिम कारबाही गर्छ ।
लिएको रकम सरकारी बाँकीसरह असुल–उपर गर्ने प्रावधान प्राधिकरणको कार्यविधिमा छ ।
सम्झौताबमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममामात्र उपयोग गर्न र घर बनाउने समयमामात्रै बैंकबाट रकम भुक्तानी लिन प्राधिकरणले सेवाग्राहीमा आह्वान गरेको छ ।
‘पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्ताको रकम उपलब्ध नगराइने कानुनी प्रावधानलाई ध्यान दिन सबैलाई अनुरोध गरिन्छ’–प्रवक्ता थपलियाले भने ।
भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका, एकै परिवारको सदस्यका नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकालेमात्र अनुदान सहयोग रकम प्राप्त गर्नेछन् ।
यसबाहेक विवरण पेस गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा पीडितसँग अनुदान सम्झौता भइ घर पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता रु ५० हजार बैंकबाट वितरण गर्नेक्रम जारी छ ।
मंगलबारसम्म सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा चार लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । बैंक खातामार्फत् रकम भुक्तानी गर्नेक्रम जारी छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा सूची संकलन अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
भूकम्पबाट घर भत्किएका सबै घरधनीलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकाले अनुदान प्राप्त गरेपछि भूकम्पप्रतिरोधी घर पुनःनिर्माण गर्न प्राधिकरणले पीडितसमक्ष अनुरोध गरेको छ । रासस





प्रतिक्रिया दिनुहोस्