१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


चे ग्वाभाराकी छोरीलाई सगरमाथाको पोस्टर उपहार


0
Shares

काठमाडौं, असोज ६ । बेल्जियमको समुद्री तट नजिक रहेको ब्रेदेनेमा डाक्टर फर दि पिपुल्स र सोलिडारिटी साप्ताहिकको आयोजनामा यस वर्षको सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ भव्यरुपमा सम्पन्न भएको छ ।

उक्त मेलाकी प्रमुख अतिथि विश्व प्रसिद्ध क्रान्तिकारी नेता चे ग्वाभाराकी छोरी डा अलैदा ग्वाभारा थिइन् । लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष एवं लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको निमन्त्रणालाई स्वीकार्दै उक्त कार्यक्रमकी प्रमुख अतिथि डा अलैदा ग्वाभाराले अभियानको इन्फो स्टलको अवलोकन गरेकी हुन् ।

सो अवसरमा आचार्यले डा ग्वाभारालाई सगरमाथाको पोस्टर उपहारस्वरूप प्रदान गरेका थिए । त्यसपछि डा ग्वाभाराले अभियानको तर्फबाट त्यस अवसरमा बिक्री वितरण गरिएको स्वादिष्ट मःम र समोसाको परिकार समेत ग्रहण गरेकी थिइन् ।

विश्वभरबाट विभिन्न सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहने गरेको उक्त मेलामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धन कार्य गरेको छ । मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरुको प्रदर्शनसहित पर्यटन प्रवद्र्धनका सामाग्रीहरु वितरण गरेको थियो ।

बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरिएको थियो ।

यसै वर्ष बेल्जियम सरकारबाट नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली ६७ हजार ४ सय ४० रुपैयाँ भाडा आयोजकलाई बुझाएको थियो । नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अभियानले यो मेलालाई एउटा अवसरको रुपमा लिएर केही सहयोग पुर्‍याउन सकिन्छ कि भन्ने उद्देश्यले गरेको एउटा सानो प्रयास भएको आचार्यले जनाए ।