
काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि तथा उनीहरुले सञ्चालन गर्ने कामको प्रभावकारी अनुगमन गर्न समाज कल्याण परिषद्लाई निर्देशन दिएका छन् ।
नेपालमा हजारौं गैरसरकारी संस्थाले दर्ताका बेला समाज सेवा गर्ने बताए पनि व्यवहारमा फरक काम गर्ने गुनासो बढिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो भनाई सार्वजनिक भएको हो ।
३७ औं सामाजिक सेवा दिवसको अवसरमा बिहीबार परिषद्ले गरेको कार्यक्रममा प्रधानमन्त्रीले समाज सेवाका नामका काठमाडौंका तारे होटल तथा उपत्यका बाहिर आफूलाई पायक पर्ने शहरमा कार्यक्रम गर्दा उनीहरुको प्रभावकारिता माथि प्रश्नचिन्ह खडा हुने बताए ।
प्रधानमन्त्री दाहालले देशका विकट क्षेत्र र समुदायका जनताको हितमा हुने गरी काम गर्ने बाचासहित दर्ता भएका गैरसरकारी संस्थालाई पारदर्शी तथा उत्तरदायी भएर काम गर्नसमेत निर्देशन दिए ।
समाज सेवा पहिलो र रोजगारी दोस्रो स्थानमा राखेर गैरसरकारी संस्थाले काम गरे मात्रै उनीहरुको कामप्रति विश्वास गर्न सकिने प्रधानमन्त्रीको भनाई छ ।
उनले कर्मचारीलाई आफ्नो कार्यशैली र व्यवहारमा परिवर्तन गरी समाजप्रति उत्तरदायी भएर काम गर्न निर्देशनसमेत दिए ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनमा आइसकेको बताए । उनले उच्च अदालत नियमावली संसद्बाट पारित गराएर संघीयता कार्यान्वयनमा ल्याइएको बताए ।
त्यस अवसरमा समाज कल्याणपरिषद्मा २५ वर्ष काम गरेका केही कर्मचारीलाई प्रधानमन्त्री दाहालले परिषद्का तर्फबाट दीर्घसेवा पटकबाट सम्मानित गरेका थिए ।
हाल समाज कल्याण परिषद्मा मात्रै दर्ता भएर ४३ हजारभन्दा बढी गैरसरकारी संस्था नेपालमा कार्यरत रहेको परिषद्को तथ्यांकले देखाएको छ । उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैरसरकारी संस्थाहरुको संख्या पनि हजारौं छ ।
प्रतिक्रिया दिनुहोस्