१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


मनास्लु पदमार्गमा पहिरो, चारजनाको मृत्यु, ६ जना घाइते


0
Shares

अपडेट
गोरखा, असोज ६ । गोरखाको मनास्लु पदमार्गअन्तर्गत् उइया–केरौंजा जोड्ने तातोपानी पुलनजिकै विहीबार गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ ।

केरौंजा गाउँ विकास समिति वडा नम्बर–९ दोभानमा गएको पहिरोमा पुरिएर तीनजना नेपाली र एक विदेशी पर्यटकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा क्यान नेपाल नामक गैरसरकारी संस्थाकी कर्मचारी ओखलढुंगाकी रञ्जना बस्नेत, काठमाडौं–गोकर्णका गाइड दोर्जे लामा र सोही ठाउँका गाइड छिरी शेर्पा छन् ।

नाम नखुलेका एकजना स्पेनिस पुरुष नागरिककोसमेत मृत्यु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

पहिरोमा परी चारजना नेपाली र दुई विदेशी गरी ६ जना घाइते भएका छन् । घाइते सबैलाई फिस्टेल एअरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

जगत र माछाखोला प्रहरीचौकीबाट घटनास्थल पुगेको प्रहरीको टोली र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

मृतकहरु चारैजना पहिरोमै पुरिएको अवस्थामा रहेको र उनीहरुलाई निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

खोर्लाबेंसीमा बुधबार राति बास बसेर पदयात्रामा निस्किएको २५ जनाको समूह पहिरोमा पुरिएको हो । जसमा १५ जना विदेशी रहेका थिए ।

पहिरोमा परेकाहरु बुधबार मनास्लु हिमाल पुगेर फर्कंदै थिए । घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोष टाढा पर्दछ ।