
काठमाडौं, असोज ६ । नेपाल प्रेस काउन्सिलले ३३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
काउन्सिलको ४७औं वार्षिकोत्सवको अवसरमा विहीबार राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारहरुलाई पुरस्कृत गरिन् ।
काउन्सिलले क्रियाशील पत्रकारिता पुरस्कार तीनजनालाई, सशक्तलेखन पत्रकारिता पुरस्कार चारजनालाई, युवा सशक्तीकरण पुरस्कार पाँचजनालाई, समावेशी पत्रकारिता पुरस्कार ६ जनालाई र सन्चारकर्मी पत्रकारिता पुरस्कार चारजनालाई प्रदान गरेको हो ।
त्यसैगरी, भाषागत पत्रकारिता पुरस्कार एकजनालाई, स्तम्भलेखन पुरस्कार तीनजनालाई, साहित्यक पत्रकारिता पुरस्कार एकजनालाई, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार एकजनालाई र गोपालदास पत्रकारिता पुरस्कार एकजनालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले युगान्तकारी परिवर्तनका लागि सन्चारजगतको ठूलो योगदान रहँदै आइरहेको बताइन् ।
समयको गतिसँगै सन्चारजगतको पनि बृद्धि हुँदै गइरहेको भन्दै राष्ट्रपति भण्डारीले मर्यादित पत्रकारिताको विकासमा प्रेस काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देश र जनताप्रति पत्रकारिताजगत् मर्यादित भएर आफ्नो पेशामा लाग्नुपर्ने बताए ।
यस्तै, नेपाल पत्रकार महासंघको अध्यक्ष डा. महेन्द्र विष्टले परिवर्तनको मान्यतालाई आत्मसाथ गर्दै सन्चार क्षेत्रले चौथो अंगको भूमिकालाई मूल्यांकन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्