काठमाडौं, असोज ६ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले विहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका लागि द्रुतगतिमा काम गरिरहेको जानकारी दिँदै नेपालको विकास प्रयासमा नर्वे सरकारबाट प्राप्त सहयोगको सराहना गरे ।
नेपालले सात दशक लामो संघर्षबाट प्रगतिशील संविधान प्राप्त गरेको र शान्ति–प्रक्रियालाई मौलिक ढंगले टुंगोमा पु¥याउन खोजिरहेको बताएको प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।
भेटमा राजदूत पिटर्सेनले नेपालको प्रगति र समृद्धिका लागि नर्वेको सहयोग जारी रहने विश्वास दिलाउँदै शान्ति–प्रक्रियामा नर्वेले खेलेको भूमिकालाई नेपालले सकारात्मकरुपमा मूल्यांकन गरेकामा धन्यवाद दिए ।
पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक
यसैबीच, प्रधानमन्त्री दाहाल र विश्व बैंकका देशीय निर्देशक किमियाओ फानबीच पनि विहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि विश्व बैंकले प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।
भेटमा प्रधानमन्त्रीले उच्चशिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पपछिको पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए ।
‘विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं, नेपालको पुनःनिर्माण, उच्चशिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकसँग थप साझेदारित गर्न नेपाल इच्छुक छ’–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले राससलाई जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विश्व बैंकको नीतिमा सहलीकरण गरी नेपाल सरकारको पूर्वाधार विकास नीति अनुकूल बनाउन पनि फानसँग आग्रह गरेका थिए ।
निर्देशक फानले नेपालको उर्जा, जलविद्युत्, प्रसारण लाइन, सौर्यउर्जालगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्