फाइल फोटो
बाँके, असोज ६ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलबीच सहमति भए चैतमा स्थानीय निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन् ।
उनले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताए ।
विहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग ‘इलेक्सन एक्सन प्लान’ बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिए ।
निर्वाचन गर्न आवश्यकपर्ने पाँचओटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको उनले बताए ।
राजनीतिक सहमति जुटे चैतमा स्थानीय निर्वाचन गराउन गाह्रो नहुने बताउँदै उनले भने–‘राजनीतिक प्रतिबद्धता भए २०७४ माघ ७ भित्र सबै तहका निर्वाचन गर्न सक्छौं, राजनीतिक निर्णय गरेमा ९० देखि १२० दिनमा अयोगले निर्वाचन गर्नसक्छ ।’
उनले राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा जोड दिए ।
यसअघि सरकारले नै निर्वाचनको मिति तोक्दै आएकोमा अबदेखि भने आयोगलाई नै त्यो अधिकार दिँदा निर्वाचन गर्न सहज हुने उनको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले यसअघिका निर्वाचनमा खर्च विवरण नबुझाउने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध आयोग कडारुपमा प्रस्तुत् हुने जानकारीसमेत दिए । रासस









प्रतिक्रिया दिनुहोस्