१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


दसैं आयो, घोडा अझै आएन, चिन्ता बढ्यो


0
Shares

भक्तपुर, असोज ६ । दसैं नजिकै आइसक्दा पनि भक्तपुर तलेजुमा दसैंका लागि चाहिने सेतोघोडा भने अझै नआउँदा सेतोघोडाको जात्रा एवं परम्परा रोकिने चिन्ता बढेको छ ।

विगतका वर्षमा परम्परा धान्दै आएको तलेजु भवानीको बहान सेतोघोडाको गत कात्तिक ९ गते ४० वर्षको उमेरमा मृत्यु भएपछि दसैंमा मनाइने जात्रा प्रभावित हुने चिन्ता बढेको तलेजुका मूलपुजारी नरेन्द्रप्रसाद जोशीले बताए ।

नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको बाहन सेतोघोडालाई विजयादशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्गजात्रा (पायोजात्रा) गरेर नगर परिक्रमाका गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ ।

महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजु भवानीले आफ्नो बाहन सेतोघोडामा सिंगारिएर खुसियाली मनाउन नगर परिक्रमा गरेको सम्झनामा जात्रा मनाउने गरिएको तलेजुका पुजारी नाइके प्रा.डा. सिद्धिवीर कर्माचार्यले जानकारी दिए ।

गत विजयादशमीको दिन खड्गजात्रा मनाएर फर्कनेक्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा मरेपछि जिल्लास्थित गुठी संस्थानको कार्यालयलाई घोडा उपलब्ध गराउन पटक–पटक लिखित पत्राचार गरेर आग्रह गर्दापनि अझै नआएको जोशीले बताए ।

घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् । रासस