१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


पत्रकारिताबाटै पत्रकार बाँच्न सक्नुपर्छ : स्वास्थ्यमन्त्री थापा


0
Shares

चितवन, असोज ७ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आम पत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधिन भवनको शुक्रबार अवलोकन गर्दै उनले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।

मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए ।

देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए । जग्गा दान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे ।

सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापा मार्फत नेपाल प्रेस युनियनलाई रु एक लाख पाँच हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराएका थिए ।

वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर उपमहानगरपालिका–११ बसेनीमा प्रदान गरेको १३ धुर जग्गामा निर्माणधीन भवन अब करिब तीन महिनामा सम्पन्न हुने युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले जानकारी दिए । भवन निर्माणका लागि आवश्यकपर्ने रु ३८ लाखमध्ये अहिलेसम्म रु २९ लाख सङ्कलन भइसकेको छ ।

सो अवसरमा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ र भवन निर्माण सहयोग समितिका संयोजक प्रमोदकुमार श्रेष्ठ लगायतको सहभागिता थियो । (रासस)