
काठमाडौं, असोज ७ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी कात्तिक ८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेक्रम जारी रहेको छ ।
अध्यक्ष पदका लागि हालका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ ।
श्रेष्ठले काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, सिराहा, सप्तरी, महोत्तरी, नुवाकोटलगायत २२ जिल्लाको समर्थनसहित उम्मेदवारी दर्ता गराएको श्रेष्ठले जानकारी दिए । उनले आफ्नो जित सुनिश्चित भएकोसमेत बताए ।
यता, उम्मेदवारी घोषणा गरेका हालका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले भने उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन आइतबार दिउँसो साढे १२ बजे उम्मेदवारी दर्ता गर्ने जानकारी दिए ।
अध्यक्षमा उम्मेदवारी दिने भन्दै दर्ता फारम लगेका पूर्वउपाध्यक्ष टासी घलेले भने शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी नदिने जानकारी गराएका छन् ।
उपाध्यक्षका लागि मणि भने कुँवर र उपेन्द्रमान सिंहको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक सुजित केसीले जानकारी दिए ।
यता, तीन जिल्ला सिन्धुपाल्चोक, पर्सा र झापा तथा दुई क्लब फ्रेन्ड्स र मच्छिन्द्रको प्रतिनिधि विवाद पुनरावेदन समितिमा पुगेको छ ।
निर्वाचन समितिले गरेको निर्णय मान्य नभएको भन्दै असन्तुष्ट पक्षले पुनरावेदन गरेको हो ।
पुनरावेदन समिति संयोजक गोपालकृष्ण घिमिरेले कागजात अध्ययन गरिरहेको भन्दै शनिबार साँझसम्म अन्तिम निर्णय गर्ने जानकारी दिए ।
एन्फा निर्वाचनमा ४५ जिल्ला, १२ ‘ए’ डिभिजन क्लब, ५ ‘बी’ डिभिजन क्लब, ३ ‘सी’ डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक र रेफ्रीबाट एक एकसहित कुल ६९ मतदाताले मत खसाल्ने अधिकार पाउँछन् ।
प्रतिक्रिया दिनुहोस्