
पर्सा, असोज ७ । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् ।
प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा शुक्रबार बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालयअगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् ।
प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती सांकेतिक विरोध गरेका थिए ।
सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि शुक्रबार सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताए ।
वीरगन्जको शंकराचार्यद्वारनजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थितरुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौंदेखि गुहार गर्दापनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ ।
नेपालको मुख्य प्रवेशद्वारकारुपमा रहेको वीरगन्जनाकाको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थितरुपमा फाल्दै आएको फोहरका कारण सो क्षेत्र पूरै दुर्गन्धित भइ स्थानीय बासिन्दासहित आवत–जावत गर्ने बटुवाले पनि ठूलै सास्ती खेपेको जानकारी सम्बन्धित कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले गुनासो गरे ।
प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदूषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो क्षेत्रको सफाइका लागि दर्जनौंपटक लिखितपत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै अनुरोध गरेपनि कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले बताए ।
उनले आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रकोे समस्याप्रति स्थानीय निकाय र उपमहानगरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिए ।
यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग बुझ्दा उनले प्रतिष्ठानको विरोध प्रदर्शनलाई स्थानीय प्रशासनले सकारात्मकरुपमा लिएको र भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडोभन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन गरिने जानकारी दिए ।
नेपालको मुख्य प्रवेशद्वारमै फोहर थुपारेर राख्दा वीरगन्जनाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले फोहर व्यवस्थापन गर्न तत्काल नगरपालिकालाई निर्देशन गरिने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाए । रासस
प्रतिक्रिया दिनुहोस्