Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रिय गौरवका २१ आयोजनामध्ये ९ ओटाको काम अन्तिम चरणमा


0
Shares

हिमाल पौडेल (इमेज)

काठमाडौं, असोज ७ । सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवका आयोजनामध्ये करिब आधाजसो आयोजनाहरु अन्तिम चरणमा रहेका छन् ।

२१ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये ९ ओटा आयोजनाहरुको भौतिकप्रगति ९० प्रतिशतमाथि छ । यी आयोजनाहरु करिब पूर्ण हुने चरणमा रहेको देखिन्छ ।

२१ ओटा आयोजनामध्ये चारओटा आयोजनाहरुको भौतिकप्रगति ५० प्रतिशत माथि छ भने सातओटा आयोजनाहरुको प्रगति ५० प्रतिशत तलै छ ।

सिक्टा सिँचाइ, बबई सिँचाइ, रानीजमरा सिँचाइ, भेरी बबई डाइभर्सन, माथिल्लो तामाकोसी आयोजना, बूढीगन्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना हुन् ।

यस्तै, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ–बारा, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, पूर्वपश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, उत्तरदक्षिण (कोसी) लोकमार्ग, उत्तरदक्षिण (कालीगन्डकी कोरिडोर) लोकमार्ग, उत्तरदक्षिण (कर्णाली) लोकमार्ग, काठमाडौ–तराई–मधेस द्रुतमार्ग, मेलम्ची खानेपानी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नेपालका राष्ट्रिय गौरवका आयोजना हुन् ।

यी आयोजनामध्ये उत्तरदक्षिण (कोसी) लोकमार्ग, उत्तरदक्षिण (कालीगन्डकी कोरिडोर) लोकमार्ग, उत्तरदक्षिण (कर्णाली) लोकमार्ग आयोजनाको भौतिकप्रगति ९० प्रतिशत माथि रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

यस्तै, ९० प्रतिशतमाथि भौतिकप्रगति हुने आयोजनाहरुमा मेलम्ची खानेपानी आयोजना, सिक्टा सिंचाइ, बबई सिंचाइ, भेरी बबई डाइभर्सन, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

५० प्रतिशत भौतिकप्रगति भएका आयोजनाहरुमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ, पशुपति क्षेत्र विकास कोष, रानीजमरा–कुलरिया सिंचाइ, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग रहेको योजना आयोजनाले जनाएको छ ।

हालसम्म ५० प्रतिशत पनि प्रगति हासिल गर्न नसक्ने आयोजनाहरुमा बूढीगन्डकी जलविद्युत्, तामाकोशी जलविद्युत्, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, पूर्वपश्चिम रेलमार्ग, हुलाकीमार्ग, लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मको लक्ष्यअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति शतप्रतिशत रहेको योजना आयोगले जनाएको छ ।

निर्माण कार्यको आधारमा सबैभन्दा बढी भौतिकप्रगति भएको आयोजना बबई सिंचाइ आयोजना हो, जसको भौतिकप्रगति ९६ प्रतिशत छ भने वित्तीयप्रगति ९८ प्रतिशत छ ।

योजना आयोगकाअनुसार भौतिकप्रगति सबैभन्दा कम रहेको आयोजना बूढीगन्डकी जलविद्युत् आयोजना हो ।

यसको भौतिक निर्माण मात्र ५ प्रतिशत पुगेको छ भने वित्तीयप्रगति पनि ५ प्रतिशतमात्रै रहेको देखिन्छ ।