१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


सरकारले लोकमान नियुक्तिको सक्कल फाइल सर्वोच्चमा पठायो


0
Shares

                                                              फाइल फोटो

काठमाडौं, असोज ७ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा शुक्रबार पठाएको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषदको कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिए ।

मन्त्रिपरिषदको कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो ।

सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको र एक हप्ताभित्र फाइल पठाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशबमोजिम सरकारले शुक्रबार आयोग प्रमुख कार्की नियुक्तिको सक्कल फाइल पठाएको हो ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत् नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हालेका थिए ।

सोही पुनरावलोकनमाथि सुनवाइ हुँदा सर्वोच्चले नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो । रासस