२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


भिक्षु अश्वघोषको विशेष राजकीय सम्मानका साथ अन्त्येष्टि


0
Shares

काठमाडौं, चैत २४ । थेरवाद बौद्धधर्मका नेपालका छैटौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको विशेष राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।

गत शुक्रबार ९४ बर्षको उमेरमा निधन भएका अश्वघोषको काठमाडौंको शोभाभगवतिस्थित कर्णदीपमा विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । भिक्षु अश्वघोषप्रति अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, भिक्षु, र  सर्वसाधारण शोभाभगवति पुगेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भिक्षु महास्थवीरको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

आठ दशकदेखि बुद्ध दर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अश्वघोषका १५० वटा कृति प्रकाशित छन् ।

राष्ट्रिय सभाको सदस्य समेत भइसकेका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासंघको सल्लाहकार समेत थिए ।

मन्त्रिपरिषदको आज बसेको आकस्मिक बैठकले उनको विशेष राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

भिक्षु अश्वघोषको निधनप्रति श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शोक सन्देश पठाएका छन् । थाइल्यान्डको थाई संघराज र विभिन्न बौद्धमार्गी देशका थेरवादी भिक्षुहरुले पनि उनको निधनप्रति समवेदना सन्देश पठाएका छन् ।