
प्रकाश लम्साल
बारा, चैत २४ । गत साता आएको शक्तिशाली हावाहुरीले घरबारविहीन भएका बाराको भरवलिया गाउँका बासिन्दालाई अर्को आपत् आइपरेको छ । विस्थापित भएकाहरुका लागि सञ्चालित सामूहिक मेस बन्द भएपछि उनीहरु आपत्मा परेका हुन् ।
विभिन्न संघ–संस्थाबाट सञ्चालित मेस शनिबार साँझबाट बन्द गरिएपछि उनीहरुलाई अब के खाने भन्ने पीडाले सताएको हो । पीडितहरुले मेस बन्द भएपछि राहतमा पाएको च्यूरा र चाउचाउ खाएर पेट भर्नु परेको गुनासो गरेका छन् ।
राहतमा पाएको खाद्यान्न पकाउने भाँडाकुँडा र ग्यास नहुँदा उनीहरु समस्यामा परेका हुन् । यसअघि भरवलिया गाउँमा मात्रै करिब आधा दर्जन संघसंस्थाले सामूहिक मेस चलाएका थिए । अहिले गाउँपालिकाको एउटा मेसमात्रै सञ्चालनमा छ ।
यो समस्या भरवलिया गाउँवासीको मात्र होइन । हावाहुरीबाट प्रभावित जिल्लाका अन्य बस्तीमा पनि यस्तै समस्या छ । पीडितलाई सेना, प्रहरी र विभिन्न संघ संस्थाले खाद्यान्न, टेन्ट र त्रिपालको ब्यवस्था गरे पनि खाना पकाउने भाँडा र इन्धनको व्यवस्था नगर्दा समस्या भएको छ ।
हावाहुरीले भग्नावशेषमा परिणत भएका घरमा भाँडाकुँडा र अन्नपात पुरिएपछि अहिले त्रिपाल र अस्थायी टेन्टमा बस्दै आएकाहरु खाना पकाउन, खान सक्ने अवस्था नरहेको बताउँछन् ।
राहत वितरण कार्य व्यवस्थित गर्न गाउँपालिकाले परिचयपत्रको व्यवस्था गरेको छ । प्रभावित क्षेत्रमा महामारी नफैलियोस् भनेर जिल्ला सरसफाई समन्वय समितिले अस्थायी शौचालयहरु समेत बनाउँदै गएको छ । शुद्ध पिउने पानीको लागि पियुस वितरण गरिएको छ । प्रभावितहरुलाई पुरानै अवस्थामा फर्काउने सरकारी पहल भइरहे पनि छिनछिनमै मौसममा हुने बदलीका कारण स्थानीयमा अझै त्रास कायमै छ ।
प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सुचारु हुन सकेको छैन । विभिन्न संघसंस्था र सरकारका तर्फबाट राहतका प्याकेज गाउँगाउँमा पुगेको भए पनि खाना पकाएर खाने व्यवस्था हुन नसक्दा पीडितको सास्ती कम भएको छैन ।
प्रतिक्रिया दिनुहोस्