
काठमाडौं, असोज ८ । मानिसले स्वस्थ्य खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् ।
शनिबार नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा.डा. यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताए ।
उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ्य जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उनको भनाइ छ ।
मुटुरोग शल्यचिकित्सक डा. ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशंका रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्नसक्ने बताए ।
उनले भने–‘मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर, अरु जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन ।’
सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै उनले औषधिको प्रयोगबाट निको नहुने रोगलाईमात्र शल्यक्रिया गर्नुपर्ने बताए ।
छातीरोग विशेषज्ञ डा. जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटुरोगको लक्षण नहुने स्पस्ट पारे ।
उनले भने–‘मुटुको दुखाइ भए २० मिनेटसम्म दुख्छ । हिड्ँदा दुखाइ बढ्ने, बस्दा कम हुने, दुखाइ चिउँडो, पेटसम्म सरेर दुख्ने भएमा मुटुको समस्या हुनसक्छ । उच्च रक्तचाप भएका, मधुमेहका बिरामी, आमाबुबालाई हृदयाघात भएका बिरामीलाई यस्तोखालको दुखाइ हुने ८० प्रतिशत सम्भावना रहन्छ ।’
पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीलेमात्र होइन, अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताए ।
खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उनको भनाइ छ ।
खानेकुरा एकैपटक टन्न हुने गरी नखाइ थोरैथोरै गर्दै समय–समयमा खानुपर्ने पनि उनले बताए ।
अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले आफ्नो सेवाको विस्तार गर्नेक्रममा शल्यक्रिया तथा उपचारलाई अन्तर्राष्ट्रियस्तरको बनाएको बताए ।
उनले विदेशमा उपलब्ध साधन–स्रोत नेपालमै उपलब्ध गराउने उद्देश्यले आफ्नै देशमा ल्याउन सकेको बताए ।
नर्भिकको सेवा अब पोखरा र विराटनगरमा पनि विस्तार गर्न लागिएको पनि उनले जानकारी दिए ।
विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख (असोज १३) गतेलाई विश्व मुटु दिवसकारुपमा विश्वभर मनाउने गरिन्छ ।
यस वर्षको नारा ‘आफ्नो मुटुलाई शक्ति दिऊँ’ भन्ने रहेको छ ।
कार्यक्रममा कान्तिपुर दैनिकका अतुल मिश्र, समाचारपत्रका भगवती तिमिल्सना, जनसरोकारका पुरुषोतम घिमिरे र अस्पतालका सन्चार अधिकृत आरपी मैनाली, अस्पतालका कर्मचारी र मुटुरोगको उपचार गराएका बिरामीलाई सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्