
काठमाडौं, असोज ९ । चिनियाँ साहित्यकार छाओ चियान्स्यीनले साहित्यकार सैद्धान्तिक रुपमा ठूला हुनु भन्दा ब्यवहारिक रुपमा ठूला हुनुपर्ने बताएका छन् ।
नेवार कथाकारहरुको संस्था बाखं दबूले चिनिया साहित्यकार छाओलाई अभिनन्दन गर्न अयोजना गरेको कार्यक्रममा बोल्दै साहित्य भनेको मानवशास्त्र भएकोले यसले मानवकै अध्ययन गर्ने भनाइ उनले राखे ।
सिद्धार्थ वनस्थली स्कूलमा आयोजित उक्त सम्मान कार्यक्रममा अभिनन्दन पत्र साहित्यकार राजा शाक्यले हस्तान्तरण गरेका थिए भने । दबूका संरक्षक पूर्व सांसद लक्ष्मण राजवंशीले नेवार लाखामरी (नेवार संस्कारमा प्रयोग हुने एकप्रकारको रोटी) प्रदान गरेका थिए ।
कार्यक्रममा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले साहित्यकार छाओको परिचय दिएका थिए । डा. सर्वोत्तम श्रेष्ठद्वारा रुपान्तरित साहित्यकार छाओको प्रख्यात सृजनाको नेपाली अनुवाद “मन जब चराको गुँडबाट निस्केर उड्छ” नागार्जुन पब्लिकेशनबाट प्रकाशित भैसकेको छ ।
कार्यक्रममा दबूका संरक्षक लक्ष्मण राजवंशीले छाओका चिनिया भाषाका सृजनाहरु नेपालभाषामा समेत रुपान्तर गर्न डा. श्रेष्ठलाई आग्रह गर्दै दबूको कथा संग्रह ‘बाखं दबू’ मा प्रकाशित गर्ने बताए ।
नेपाल र चीनबीचको सम्बन्ध दुई सरकारबीचको सम्बन्धमा सीमित भएको र दुई देशका जनताबीच त्यो सम्बन्ध विकास हुन नसकेकोप्रति दुःख ब्यक्त गर्दै छाओको अभिनन्दन यो सम्पर्क स्थापित गर्न पहिलो कदम भएको उनको भनाइ थियो ।
विमला श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा प्रा. नर्मदेश्वर श्रेष्ठले बाखं दबूका बारे भनाई राख्दै साहित्यिक आदानप्रदानमा कार्यक्रमको महत्वपूर्ण भूमिका रहने पनि उनको भनाइ थियो । कार्यक्रम कथाकार एवं संचारकर्मी मीना बज्राचार्यले सञ्चालन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्